कांग्रेसको संस्थापन इतरसमूहले नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको नेतृत्व नियुक्तिको विषयलाई लिएर असन्तुष्टि जनाएको छ। बिहीबार नेता डा. शेखर कोइरालासहित संस्थापन इतरसमूहको भेलाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो ।
बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए। इतरपक्षले नेविसंघ र तरुण दलको समानान्तर भेला बोलाउने र शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार भएको संस्थापन इतरपक्षको भेलाले देउवाले आफूखुसी नियुक्ति गरेको भन्दै आपत्ति जनाएको भेलामा सहभागी नेता गुरुराज घिमिरेले जानकारी दिए । भेलामा विद्यार्थी र तरुण दलका नेताहरू पनि सहभागी थिए ।
भेलाले पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो मत राख्ने र तीन दिनभित्र युवा र विद्यार्थीको राष्ट्रिय भेला बोलाउने निर्णय भएको घिमिरेले नयाँ पत्रिकालाई जानकारी दिए।
भेलामा नेताहरू डा. कोइराला, चन्द्र भण्डारी, गोविन्द पोखरेल, प्रतिमा गौतम, विद्यार्थी नेताहरू रञ्जित कर्ण, केशव सिंह, युवा नेताहरू हुर्मत न्यौपाने, विनोद कायस्थ, भूपेन्द्रजंग शाही, दिनेश राईलगायत सहभागी थिए ।