‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा पद्मकन्या क्याम्पसमा सम्पन्न

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ। बुधबार पद्मकन्या क्याम्पसमा एक कार्यक्रमबीच प्रतिस्पर्धा सम्पन्न भएको हो।

बुधबार अन्तिम चरणमा १३ वटा समूहको सहभागिता रहेको थियो। सहभागीमध्येबाट चर्तुभुज समूह छनाेट भएको छ। अनुपा बराल, प्रजिता तिमल्सिना, सोना महर्जन र समीक्षा खड्का रहेका सो समूहले कामको खोजीमा रहेका र कामदारको आवश्यकता भएकालाई समेट्ने गरी ल्याएको एपको योजना छनाेट भएको हो।

कार्यक्रमको मुख्य प्रायोजन नेपाल बैंक लिमिटेडले गरेको थियो। त्यस्तै सहप्रायोजकमा ग्लोबल डायस्पोरा कन्सल्टेन्सी र वेस्टर्न एजुकेसनल रहेका थिए। कार्यक्रममा निर्णायकको भूमिकामा राजन कोइराला, समय खड्का, प्रयास राजोपाध्यय, वृसन्ती वाग्ले र उत्सिका अधिकारी रहेका थिए। कार्यक्रमको सभापतित्व क्याम्पस निर्देशक कँडेलले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि पद्मकन्या क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजु मल्ल र विशिष्ट अतिथिमा सहायक क्याम्पस प्रमुख गोविन्द पुन रहेका थिए।

‘हल्ट प्राइज’को यस वर्षको नारा ‘विश्वलाई पुनः रोजगारी’ रहेको छ। हल्ट २०२२ क्याम्पस निर्देशक सगुन कँडेलका अनुसार प्रतियोगीलाई यसै नाराको परिधिभित्र रहेर व्यावसायिक योजना प्रस्तुत गर्न दिइएको थियोे। छनाेट भएको समूहले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजना हुने क्षेत्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ भने तत्पश्चात् हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछ। १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको अन्तिम चरणको प्रतिस्पर्धामा पुग्न क्षेत्रीय हुँदै अन्तर्राष्ट्रिय  प्रतिस्पर्धामा छनाेट हुनुपर्नेछ।

हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ। कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्। प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ।

सुझावित समाचार