जयसिंह धामी घटना : नौ महिनासम्म न्याय नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट जयसिंह धामी बेपत्ता भएको नौ महिना हुँदै छ । भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन फुस्काइदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबी दोषी देखाएको थियो । र, सोहीअनुसार कारबाही गर्न भनेको थियो । 

तर, लामो समयसम्म पनि पीडकलाई कारबाही भए–नभएको पीडित परिवारलाई जानकारी छैन । यसबीचमा पीडित परिवार झनै पीडामा परेकाे छ । पीडितले राज्यबाट उचित न्याय नपाएको भन्दै अहिले पीडित जयसिंहकी श्रीमती राजन्ती धामी जिल्ला प्रशासन कार्यालय पुगेकी छिन् ।

सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको माग गर्दै बुधबार धामीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन बुझाएकी छिन् । सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदासमेत पीडित परिवारलाई उचित राहत र रोजगारीको अवसर सिर्जना गर्न नसकेको पीडित परिवारको गुनासो छ ।

घरमा वृद्ध आमाबुबा, श्रीमती र दुई नाबालक छोराछोरी छन् । ‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले पनि गरेको थियो,’ राजन्ती भन्छिन्, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’

घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिनुपर्ने उनको माग छ । सरकारले जयसिंह परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसबाहेक अहिलेसम्म फर्केर हेरेको छैन । ‘सहयोग रकम पाएको हुँ,’ उनले भनिन्, ‘तर, त्यो रकम विदेश जाँदा निकालेको ऋण तिर्न ठिक्क भयो ।’ स्थानीय सरकारले पनि आर्थिक सहयोगको घोषणा गरेको थियो । तर, अहिले आएर अवस्था कस्तो छ भनेरसमेत सोधपुछ हुँदैन । गाउँको खेतमा उब्जनी हुँदैन । तीन महिना पनि खान नपुग्ने भएपछि आर्थिक समस्या भएको छ । घरमा रोजगारीको आधार केही छैन । 

दोषीलाई कारबाही नहुनु र राज्यले समेत उचित रोजगारी र छोराछोरीको शिक्षाको ग्यारेन्टी नगर्दा आफ्नो परिवार बिचल्लीमा परेको उनको गुनासो छ । ‘आफूलाई समेत रोजगारी दिएको भए सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘यसतर्फ कसैले सहयोग गरेका छैनन् । स्थानीय सरकारले गरेका वाचा पूरा भएको छैन । बालबालिकाको उचित शिक्षा र पालनपोषण तथा मलाई रोजागारीको अवसर सिर्जना गरिदिन आग्रह गर्दछु,’ राजन्तीले भनिन् ।

तुइन तरेरै खलंगा पुगिन् राजन्ती
सरकारले तुइन विस्थापन गर्ने नीति लिएको मालघाटमा अझै तुइन विस्थापन हुन सकेको छैन । जयसिंह धामी बेपत्ता भएयता पुल निर्माण कार्यले तीव्रता लिए पनि अझै पुल निर्माण कार्य सकिएको छैन । महाकाली नदी वारपार गर्न पुल नहुँदा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन बुझाउन जयसिंहकी श्रीमती राजन्ती तुइन तरेरै खलंगा पुगेकी हुन् । श्रीमान् बेपत्ता भएकै क्षेत्रबाट तुइन तरेर खलंगा पुगेको उनले बताइन् । 

‘पुल निर्माण सकिएको छैन,’ बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘पुल नहुँदा तुइनमार्फत आवतजावत भइरहेको छ । नेपालतिर आउँदा दिनभरि समय लाग्छ ।’ तुइन भएर आउँदा एक घन्टामै खलंगा पुगिने भएको कारण तुइनबाटै आवतजावत गर्ने गरेको उनले बताए । एसएसबीले नियमित गस्ती गर्छन् । उनीहरू आए सीधै तुईन काटिदिन्छन् । तुइन अवैध भए पनि यहाँका नागरिकलाई सहज र छोटो बाटो यही तुइनको प्रयोगमार्फत हुन्छ । यहाँका नागरिकले भारतकै खाद्यान्न लुकिछिपी यही तुईनबाट ओसार्ने गर्छन् । 

‘ज्यानकै बाजी लगाएर भए पनि यही बाटो हिँड्नुको विकल्प पनि त छैन,’ व्याँस– २ का महेन्द्र बुढाथोकीले भने, ‘पुल निर्माण नहुँदा पुस्तौँदेखि यहाँका नागरिक तुइनको सहारामा आवतजावत गर्न बाध्य छन् ।’ 

सुझावित समाचार