१८औँ स्पोर्टस् अवार्ड आज

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०७७ को तयारी पूरा भएको छ । मंगलबार कमलादीस्थित प्रज्ञाभवनको हलमा हुने १८औँ संस्करणको स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूलसमारोह समितिका संयोजक दुर्गानाथ सुवेदीले जानकारी दिए । 

एनएसजेएफले ०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको छ । कोरोना महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’को रूपमा आयोजना गर्न लागेको हो ।यस संस्करणमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि सोमबार सकिँदै छ । यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । 

पल्सर स्पोर्टस् अवार्डमा पिपल्स च्वाइससँगै पाराएथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबार नै गरिनेछ । कार्यक्रममा सहभागी हुन एआइपिएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आएका छन् । मलिकले एसियाली खेल पत्रकारको संगठनमा सक्रिय एवं उदाहरणीय रहेको एनएसजेएफले आयोजना गर्ने अवार्ड कार्यक्रमलाई एआइपिएस एसियाको वार्षिक क्यालेन्डरमा समावेश गरेको जानकारी दिए । 

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कारबापत प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

सुझावित समाचार