चौथो संस्करणको सिर्जना कप : दुवै विधाको उपाधि शान्ता माविलाई

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

चौथो संस्करणको सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिताअन्तर्गत दुवै विधाको उपाधि शान्ता माविले जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार सम्पन्न फाइनल खेलमा शान्ताले दोहोरो उपाधि हात पार्ने क्रममा छात्रतर्फ मेश्रम बराह माविलाई २५–२१, २५–१६ र २७–२५ र छात्रातर्फ लक्ष्मी माविलाई २५–२०, २५–८ र २५–१० को सोझो सेटमा पाखा लगाउँदै उपाधि हात पार्न सफल भएको हो ।

यसैगरी, छात्रतर्फ तेस्रो स्थान हात पार्ने क्रममा कालिका माविले इन्द्रराज्यलक्ष्मी माविलाई २५–१८, २५–१७ र २५–२१ को सेटमा र छात्रातर्फ तेस्रो स्थान हात पारेको विन्ध्यवासिनी माविले भद्रकाली माविलाई २५–१४, २६–२४ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो ।

स्कुल-स्कुलमा भलिबल खेल पुर्याउने लक्ष्यसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र पोखराले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको दुवै विधाका उपाधि विजेताले एक लाख, उपविजेतालाई ५० हजार र तृतीय  हुने विद्यालयले ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र  पाएकाे आयोजक सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

प्रतियोगितामा छात्रतर्फ मेश्रमका सविन नेपाली र छात्रातर्फ शान्ताकी जमुना गुरुङ उत्कृष्ट स्पाइकर, शान्ताका विवेक सुनार र छात्रातर्फ शान्ताकै निशा भुजेल उत्कृष्ट सेटर, शान्ताकै सुभास गुरुङ र छात्रामा शान्ताकै शिला बस्नेत उत्कृष्ट सर्भर, कालिका माविका उमेश गुरुङ र छात्रामा  लक्ष्मीकी गिरमाया गुरुङ उत्कृष्ट डिफेन्स र मेश्रम बराह माविका किशोर विक उत्कृष्ट ब्लकर घोषित हुँदै सबैले एक–एक थान भलिबल पुरस्कार पाए ।

सुझावित समाचार