राजर्षि जनक कप : सुदूरपश्चिम अन्तिम चारमा

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगितामा सुदूरपश्चिम–११, धनगडी अन्तिम चारमा प्रवेश गरेको छ । सोमबार सम्पन्न प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सुदूरपश्चिम–११ जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ट्राइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । ट्राइब्रेकरमा सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्ध नायक साबित भए । उनले पुलिसको दुई पेनाल्टी रोकेका थिए । उनले गोलसमेत गरेका थिए । 

पहिलो ५-५ पटकको पेनाल्टी प्रहारमा दुवै टोलीले ४-४ गोल गरेपछि थप ३-३ पटकको प्रहारमा प्रहरीको तर्फबाट राम बाजीले प्रहार गरेको पेनाल्टी सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्धले विफल तुल्याइदिए । नेपाल पुलिसको तर्फबाट भोलानाथ सिल्वालले गरेको पहिलो पेनाल्टीसमेत आकाशले रोकिदिएका थिए । अन्ततः खेलको नतिजा ६–७ गोल अन्तरले सुदूरपश्चिमको पोल्टामा पर्यो ।

खेलको सुरुको केही समय दुवै टोली आक्रामक अवस्थामा देखिए । लगातार दुवै टोलीले अवसर सिर्जना गरेका थिए । तर, दुवैतर्फबाट सशक्त प्रहार भने हुन सकेन । पहिलो हाफसम्म दुवै टोली कडा प्रतिस्पर्धामा देखिएका थिए । पहिलो हाफको १५औँ मिनेटमा पुलिसका निकेश थापाको पासमा निरकुमार राईले गरेकोे सशक्त प्रहार पहिलो बारमा ठोकिएर फर्किएको थियो । २८औँ मिनेटमा बनेको अवसरलाई पनि पुलिसका सौजन राईले सदुपयोग गर्न सकेनन् । 

खेलको अतिरिक्त समयका पुलिसका लागि अर्को अवसर सिर्जना भएको थियो । सौजन राईको प्रहार पोलमा लागेर फर्किएपछि निरकुमार राईले गरेको प्रहार सीधै क्रसबार माथि गएको थियो । दोस्रो हाफको २० मिनेट पुलिसले सुदूरपश्चिममाथि निकै कडा दबाब बनाएको थियो । 

पुलिसमा खेलाडीले लगातार अवसर सिर्जना गरेका थिए । ७१ औँ मिनेटमा पुलिसका सौजन राईको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि पुलिसका भोला सिल्वालले निकै कमजोर प्रहार गरेका थिए ।
पुलिस आक्रामक भएको केही समय सुदूरपश्चिमको लागि निकै चुनौतीपुर्ण बनेको थियो । सुदूरपश्चिमले लगातार आफूलाई सम्हाल्ने प्रयास गरेको थियो । 
 

सुझावित समाचार