कोरोना संक्रमणको कारण बन्द भएको तम्घासको रेसुंगा हाटबजार पुन सञ्चालनमा आएको छ । गत वर्षको चैतबाट हाटबजार बन्द थियो । फागुन अन्तिम साताबाट हाटबजार सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष ०७५-७६ बाट सुरु गरिएको हाटबजार कात्तिकदेखि चैतसम्म ६ महिना मात्र सञ्चालन भएर बन्द भएको थियो । गत वर्ष रेसुंगा नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा करिब दुई करोडको लागतमा नयाँ संरचना निर्माण गरेर हाटबजार सञ्चालनमा ल्याएको हो ।
वडा–वडामा संकलन केन्द्र
नगरपालिकाले प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ । नगरपालिकाको गाडीले धेरै उत्पादन हुने किसानको खेतबारीमै पुगेर कृषि उपज खरिद गर्ने गरेको हाटबजार सञ्चालन समिति संयोजन एवं रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए । रेसुंगा नगरपालिकाले किसानको कृषि उत्पादन बजारीकरणमा पूर्ण ग्यारेन्टी गरेको छ । नगरपालिकाले घरमै पुगेर कृषि उपज संकलन र उचित मूल्य किसानको हातमै दिने गरेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
नगरले उत्पादनमा आधारित प्रतिकिलो दुई रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । ‘डोकोमा बोकेर बजार पुग्न र उत्पादन बिक्री नभएर कुहिने अवस्था छैन,’ अगुवा किसान विनोद कुँवरले भने, ‘हातहातमै कारोबार उत्पादनमा अनुदान, उचित मूल्य र बजारको पूर्ण ग्यारेन्टीले किसान उत्साहित छन् ।’
स्थानीय उत्पादन : सुपथ मूल्य
रेसुंगा नगरपालिकाले हाटबजार सञ्चालन गरेपछि किसान र उपभोक्ता दुवैलाई फाइदा भएको छ । बिचौलिया नभएका कारण हाटबजारबाट उत्पादनअनुसार १० देखि ३० प्रतिशतसम्म सस्तोमा कृषि उपज पाइन्छ । जसका कारण हाटबजारप्रति नागरिकको आकर्षण बढिरहेको छ । ‘हाटबजार मूल्य र गुणस्तरका हिसाबले उपभोक्तामैत्री छ ।
तर, कोभिडले नियमित सञ्चालन भएन,’तम्घासमा बस्दै आएकी मुसिकोट ३ की सिर्जना केसीले भनिन्, ‘खेतबारीमै गाडी पुग्ने भएकाले साना किसानले समेत तरकारी उत्पादन र बिक्री गरिरहेका छन् ।’ हाट बजारमा गाउँका आलु,, साग, मुला, गाजर, अदुवा, गिठालगायत बिक्री भइरहेको रेसुंगा नगरपालिकाका कृषि प्राविधिक हरिशरण पन्थीले बताए ।
सम्भावना बोकेको हाटबजार
जिल्लाको मुख्य बजार र अर्घाखाँची पनि नजिक पर्ने भएकाले रेसुंगा हाटबजारको सम्भावना धेरै रहेको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । उनले कोभिडअगाडि नगरका पकेट क्षेत्र, मुसिकोट, धुर्कोट र अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृषि उपज संकलन गरिएकाले अब पनि खपतको आधारमा गाउँ–गाउँमा पुगिने भुसालले जानकारी दिए ।
भुसालले जिल्लाको समृद्धिको आधार कृषि, पर्यटन र तम्घास भूगोलको हिसाबले मुख्य केन्द्र भएकाले हाटबजारको अवधारणा ल्याइएको बताए । संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शीतभण्डारको समेत व्यवस्था गरिएको छ । नगर तथा बाहिरबाट आएका किसानहरूको कृषि उत्पादनलाई खरिद गरेर तत्काल बिक्री गर्न नसके शीतभण्डारमा भण्डारण गर्न सकिने उनले बताए ।