कांग्रेस निर्वाचन अभियान : चैत १५ भित्र जिल्लाको वस्तुस्थिति बुझ्ने, मसान्तभित्र उम्मेदवारको टुंगो

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा चैत १५ भित्र जिल्लाको वस्तुस्थिति बुझ्ने र चैत मसान्तभित्र उम्मेदवारका आकांक्षी पहिचान गर्ने भएको छ। अभियानअनुसार कांग्रेस केन्द्रीय कार्यालयले  स्थानीय तहमा पार्टीको अवस्थाबारे विवरण संकलन गर्न केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको हो। सँगसँगै उम्मेदवारका आकांक्षी पहिचानलाई समेत अगाडि बढाएको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार चैत मसान्तभित्रै उम्मेदवार टुंगो लगाउने तयारी छ। सल्यानमा नेपाल प्रेस युनियनले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले विधानअनुसार पार्टीका विभिन्न तहका समितिले चैत मसान्तभित्रै उम्मेदवार टुंगो लगाउने जानकारी दिए। ‘यसपटक पहिलेजस्तो अन्तिम दिनसम्ममा उम्मेदवारी दिने भन्ने स्थिति रहनेछैन। निर्णय प्रक्रिया विभिन्न तहमा विकेन्द्रित छ। चैत महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गर्छौँ,’ प्रवक्ता महतले भने।

कांग्रेस सचिव केशव रिजालका अनुसार कांग्रेसले फागुन २९ बाट जारी एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत चैत १५ भित्र जिल्लाको वस्तुस्थितिको विवरण माग गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको छ। त्यस्तै, उम्मेदवार सिफारिस सम्बन्धमा पनि परिपत्र गरिएको उनले नयाँ पत्रिकालाई जानकारी दिए। ‘अभियानअन्तर्गत चैत १५ भित्र जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउन सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको छ,’ उनले भने, ‘उम्मेदवार सिफारिस सम्बन्धमा पनि परिपत्र गरिएको छ। विभिन्न तहका उम्मेदवारका लागि तहगत रूपमा सिफारिस गर्नुपर्ने हुन्छ।’

परिपत्रमा जिल्लाको राजनीतिक परिस्थितिबारेको प्रतिवेदन तयार गरेर पठाउन निर्देशन दिइएको छ। कांग्रेसले यसअघि टोल कार्यसमितिका सदस्यलाई कम्तीमा ५० मतदातालाई रिझाउनुपर्ने जिम्मेवारी तोकेको थियो। कांग्रेस केन्द्रीय कार्यालयले ६ हजार सात सय ४३ वटै वडा कार्यसमितिलाई परिपत्र गरी यस्तो निर्देशन दिएको थियो। चैत ११ मा कांग्रेसले निर्वाचन अभियानको समीक्षा गर्ने र स्थानीय तह निर्वाचनसँग आवश्यक निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठकसमेत आह्वान गरेको छ।

सुझावित समाचार