निर्वाचनमा भाग लिने विषयमा नेकपामा विवाद, बाँस्तोला र वली विप्लवको विपक्षमा

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम सुरु भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेस गरेका थिए । 

राजनीतिक प्रस्तावमा स्थानीय तह निर्वाचनलाई उपयोग गरेर जानुपर्ने उल्लेख छ। बैठकमा सचिवालयका सदस्यहरू र केही केन्द्रीय सदस्यले महासचिवको प्रस्तावमा धारणा राखेको नेता धर्मेन्द्र बाँस्तोलाले बताए । ‘राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम सुरु भएको छ,’ उनले भने, ‘सचिवालयका कमरेडहरू र केही केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ ।’ आइतबार थप केन्द्रीय सदस्यहरूले राजनीतिक प्रस्तावमाथि धारणा राख्ने उनले बताए । 

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा चुनावलाई उपयोग गरेर जाने नीति पार्टी लाइनविपरीत हुने भन्दै महासचिव विप्लवलाई प्रस्ताव फिर्ता लिन सचिवालय सदस्य हेमन्तप्रकाश वलीले आग्रह गरेका थिए । वलीलाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘निर्वाचनलाई उपयोग गर्ने लाइन संशोधनवादी हो । यसले नेपाली क्रान्तिलाई पुनः संसदीय भासमा फसाउँछ । महासचिवले प्रस्ताव फिर्ता लिएर क्रान्तिको मोडल ल्याउनुपर्छ ।’

यसअघि सचिवालय बैठकमा तटस्थ देखिएका सन्तोष बुढामगरले भने विप्लवको प्रस्तावलाई समर्थन गरेका छन् । उनले निर्वाचनलाई उपयोग गरेर जान सकिने धारणा राखेका छन् । उनले शान्ति प्रक्रियामा आएपछि निर्वाचनलाई साधनको रूपमा प्रयोग गर्न सकिने धारणा राखेका छन् ।

सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले निर्वाचनमा भाग लिएर क्रान्तिलाई धोका दिन नहुने धारणा राखेका छन् । बाँस्तोलाले क्रान्तिकारी हुने कि संशोधनवादी हुने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने बताएका थिए । उनले संशोधनवादी लाइन पार्टीले लिए यही स्थितिमा रहन नसक्ने चेतावनी दिएका थिए ।

बैठकमा केही केन्द्रीय सदस्यहरूले निर्वाचनमा जानका लागि संगठन सुदृढ हुनुपर्ने बताएका छन् । संगठन मजबुत नभएको अवस्थामा निर्वाचनमा सहभागी हुँदाको स्थिति अकल्पनीय हुने हुँदा भाग बहिष्कारको नीति लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले केही जिल्लामा पार्टी समितिसमेत नबनेको अवस्थामा निर्वाचनमा भाग लिनु आत्मघाती हुने भन्दै निर्वाचनमा भाग लिन नहुनेमा जोड दिएका थिए।

नेकपामा स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे नेकपामा विवाद छ । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचनमा सहभागी हुनुपर्ने लाइनमा छन् ।

सुझावित समाचार