संस्कृति जोगाउँदै थारू युवती

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

गौरीगंगा नगरपालिका–८ बडैपुरकी किशोरी मेनुका चौधरी परम्परागत थारू नृत्यमा पोख्त छिन् । गाउँघरमा हुने मेला महोत्सवमा उनले आफ्ना सहपाठीसँगै सांस्कृतिक नाचहरू देखाउन थालेको तीन वर्ष भयो । उनी मात्रै होइन थारू समुदायको परम्परागत नृत्य संरक्षण गर्न यहाँका युवतीहरू एकताबद्धसमेत भएका छन् । उनीहरूले ‘एकता किशोरी समूह’ गठन गरेर संस्कृति संरक्षणमा सहयोग गरिरहेका छन् । 

‘हामीले नै केही गर्नुपर्छ भनेर नृत्य सुरु गरेका हौँ ।’ १२ कक्षामा अध्ययनरत मेनुका भन्छिन्, ‘थारू संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’ तीन वर्षअघि गठन गरिएको एकता समूहमा गाउँका २५ जना युवती आवद्ध छन् । गाउँसहरमा हुने हरेकजसो मेला महोत्सवमा उनीहरू परम्परागत नृत्यहरू प्रस्तुत गर्छन् । नृत्य गर्दासमेत उनीहरू थारू पोसाकमै सजिएर जान्छन् । 

मेला महोत्सव, सभा समारोहमा आफ्नै समुदायको नृत्य प्रस्तुत गर्न पाउँदा खुसी लाग्ने गरेको समूहकी अध्यक्ष लक्ष्मी चौधरी बताउँछिन् । ‘स्थानीय विद्यालय र क्याम्पस पढ्ने साथीहरू समूहमा आबद्ध छौँ,’ उनले भनिन्, ‘समूहमा रहेर थालेको हाम्रो प्रयासले थारू संस्कृतिको जगेर्नामा सहयोग भइरहेको ठानेका छौँ ।’ उनी स्नातक तह पहिलो वर्षमा अध्ययन गर्छिन् । उनीहरूले लाठी नाचलगायत समूहमा नाचिने नृत्यहरू देखाउँदै आएका छन् ।

विद्यालयदेखि राजनीतिक सभा–समारोहको रोजाइमा पर्दै

विद्यालय, कलेजको वार्षिकोत्सव या मेला महोत्सव, थारू समुदायको बाहुल्यता रहेको कैलालीमा थारू सांस्कृतिक नृत्यले प्राथमिकता पाउँदै आएको छ । विभिन्न संघसंस्था र राजनीतिक दलका सभासमारोहमा पनि मनोरञ्जनसँगै अतिथिको स्वागतका लागि थारू सांस्कृतिक नृत्य अनिवार्यजस्तै बनेको छ ।

लक्ष्मीले नृत्यका लागि माग बढ्दै गएको उनले बताइन् । ‘मसुरिया, सुखड, अत्तरियालगायत बजारमा हुने कार्यक्रममा समेत बोलाउन थालेका छन् ।’ उनले भनिन्, ‘नृत्य प्रस्तुत गर्दा संस्कृतिको संरक्षणसँगै केही आयआर्जन पनि हुन्छ ।’ सांस्कृतिक नृत्य प्रस्तुत गरेबापत उनीहरूले न्यूनतम चार–पाँच हजार रुपैयाँ लिने गर्छन् ।

यसबाट हुने आम्दानी नृत्य गर्दा लगाउने परम्परागत पहिरन, नृत्य सामग्री आदि किन्न खर्च गर्ने गरेको लक्ष्मीले बताइन् । उनीहरू आफू मात्रै नाच्दैनन् । आफूभन्दा साना बहिनीहरूलाई पनि सिकाउने गरेको एकता समूहकी सदस्य कोमल चौधरीले बताइन् । ‘उमेर पुगेपछि कोही साथीहरू बिहे गरेर जान्छन् । नृत्य देखाउन समस्या नहोस् भनेर साना बहिनीहरूलाई पनि सिकाउँछौँ,’ उनले भनिन्, ‘नयाँ पुस्ताले सिक्दै गए हाम्रो संस्कृति पनि जोगिन्छ ।’ थारू समुदायमा खसीया, लाठी, झुम्रा, मघौटा, मुग्रहुवालगायत नृत्य प्रचलित छ ।

सुझावित समाचार