महिला हिंसाविरुद्ध लड्न दक्षिण एसियाली सम्मेलन हुँदै

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

महिला हिंसाविरुद्धको आवाज विश्वव्यापी बनाउने उद्देश्यले काठमाडौंमा मंगलबारबाट दक्षिण एसियाली सम्मेलन हुँदै छ । दुई दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागी हुनेछन् । सम्मेलनमा अमेरिकी अधिकारकर्मीको पनि सहभागिता रहनेछ । 

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र एभ्री वुमनको  संयुक्त प्रयासमा सम्मेलन हुने भएको हो । सम्मेलनमार्फत महिला हिंसा अन्त्यमा सिडले गर्न नसकेका कार्य महिला महासन्धिमार्फत सम्बोधन गर्न सम्बन्धित देशका सरकारलाई घच्घच्याइने डब्लुएनएफकी अध्यक्ष शशी अधिकारीले बताइन् ।
सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् । अध्यक्ष पराजुलीले विगतको तुलनामा अहिले विश्वव्यापी रूपमा हिंसा बढ्नुका साथै तीनको स्वरूप पनि परिवर्तन भइरहेका बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरन्जन क्षेत्रमा काम गर्नेको पीडालगायतका हिंसाको सम्बोधन हुन नसकेको जनाइन्। 
लैंगिक हिसाबले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताइन् ।  

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानवअधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रिय रूपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् । 

सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागी हुनेछन् । लेखिका एवं गिल्ड अफ सर्भिस ट्रस्टी, भारतीय महिला अधिकारकर्मी मीरा खन्नाले पितृसत्तात्मक परम्परा हाम्रो समाजमा जहीँतहीँ भएकाले पनि महिला हिंसा बढेको बताउँदै महिला हिंसा भनेको महिलाप्रतिको हिंसा मात्र नभई मानवअधिकारको उल्लंघन भएकाले मानवअधिकारको उल्लंघन गरेर कुनै पनि परिवार, समाज र देश अगाडि बढ्न नसक्ने उल्लेख गरिन् ।  

पत्रकार सम्मेलनमा एभ्री वमन संस्थाकी सिइओ लिजा स्यानोन, लैँगिक विशेषज्ञ एवं औरत फाउन्डेसनकी बोर्ड अफ गर्भनर सदस्य डा. अलिया खान, श्रीलंकाकी शान्ति अधिकारकर्मी एवं द्वन्द्व प्रभावित महिला संघकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदास, पूर्वसिड कमिटी सदस्य र बंगलादेशकी हेल्प एज ट्रस्टी फेरडोजअरा बेगमलगायतले महिला हिंसाका विरुद्ध ऐक्यबद्ध भएर आवाज उठाउन सम्मेलन सहयोगी हुने बताए ।

सुझावित समाचार