प्रमुख प्रतिपक्षी दल एमालेले केन्द्रीय कमिटी बैठकबाट स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय कमिटी बैठक छिट्टै बोलाएर निर्वाचन कार्ययोजना बनाउने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने उनले बताए । उनले भने, ‘केन्द्रीय कार्यालयको बैठकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबारे छलफल भएको छ । भोलि बस्ने सचिवालयको बैठकमा थप छलफल हुनेछ । स्थानीय तहको निर्वाचनको कार्ययोजना छिट्टै बनाउनेछौँ ।’
एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ।