संसद् विघटन ओली एक्लैले गरेका होइनन्, ठूलै षड्यन्त्र थियो : प्रचण्ड

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गर्दै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षड्यन्त्रअन्तर्गत संसद् विघटन भएको खुलासा गरे। 

‘विदेशी शक्तिहरू जोडिए, देशी शक्तिहरू जाेडिए,  न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिङ थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेत्सानबुद गर्ने एउटा डिजाइन गर्न गरिएको षड्यन्त्र थियो। यसको निशाना माओवादी केन्द्र थियो। माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गतको षड्यन्त्र थियो। यो संघर्षमा केपी ओली एउटा माध्यम थिए,’ उनले भने। 

जनता आँधीहुरीजस्तै ओइरिएपछि यो देशी–विदेशी सेटिङ असफल भएको उनको भनाइ छ। संसद् विघटनविरुद्ध माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको प्रचण्डले बताए। नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था नरहेको उनले बताए।

दोस्राेपटकसमेत प्रतिगमनकारीहरूले संविधानमाथि प्रहार गरेर संसद् विघटन गरेपछि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि गठबन्धनको निर्माणको पहल गरिएको उनले बताए। ‘माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस् भनेर धेरैचोटि अनुरोध गर्याैँ,’ उनले भने। 

‘अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरूले तपाईंहरू पार्टी एकता नगर्नुस्, पाँच वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो,’ उनले भने। 

सुझावित समाचार