डोल्पा, मुगु र हुम्लामा छिट्टै केन्द्रीय प्रसारणको विद्युत् पुग्छ : कुलमान घिसिङ

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण
डोल्पा, मुगु र हुम्लामा छिट्टै केन्द्रीय प्रसारणको विद्युत् पुग्छ : कुलमान घिसिङ

फाइल फाेटाे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन्। सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँचदिने सिद्धिमन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुर्याइएको बताएका हुन्।

उनले कर्णालीको विकट ठाउँहरूमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिट्टै सबै स्थानमा विद्युत् पुर्याइने जानकारी दिए। दूरदराजमा रहेका जनतालाई विद्युत् पुर्याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाइ छ। घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझै पनि सहज नरहेको अवस्थामा सबै स्थानमा केन्द्रीय प्रसारणको विद्युत् पुर्याइने बताए। उनले विकट गुम्बामा पनि विद्युतको पहुँच पुर्याउन प्रतिबद्ध रहेको धारणा राखे।

पाँचदिने सिद्धि मन्त्र जप साधना कार्यक्रमअन्तर्गत चैत २ सम्म दश अर्बपटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दीर्घायु सशक्तीकरण र एक लाख त्सोक पूजा चैत ३ मा हुने बताइएको छ। डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौँ औतारी लामाका अनुसार नेपाललगायत विश्वभरको महमारी रोग र अनिकालको विषम परिस्थिति सबै निर्मुल भई सबै ठाउँमा मंगल हुनको निम्ति लाखौँ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो। हरेक वर्ष यस पूजाको समयमा १० अर्बपटक सिद्धि जप तथा अभ्यास, एक लाखपटक तारा जप तथा अभ्यास, १० हजारपटक महाकाला र एक लाखपटक छोग अर्पण पूजा हुने गर्दछ।

सुझावित समाचार