२५ सयमुनि पुगेर फर्कियो नेप्से

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

लामो समय २५ सयमा टेवा खोजिरहेको नेप्से गत साता दुई हजार चार सय ९९ सम्म पुगेर उक्लिएको छ । साताभरमा नेप्सेले करिब २० अंक जोडेको छ । २५ सय बिन्दुलाई मनोवैज्ञानिक तह बनाइरहेका लगानीकर्ताले त्यो तहभन्दा केही घट्नेबित्तिकै बजारबाट केही मात्रामा सेयर उठाउन थालेका छन् । यद्यपि, कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन ।

अघिल्लो साता तीन दिन र गत साता चार दिन कारोबार भएको थियो । गत साता बजारमा कुल १० अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दैनिक औसत कारोबार रकम भने २७ प्रतिशतले घटेर दुई अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अन्तिम दिनको कारोबार रकम भने साताको औसतभन्दा बढी छ । बिहीबार दुई अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो । 

यद्यपि, बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान भएको छैन । बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै निर्णय लिन सकेका छैनन् । मुलुकको आर्थिक अवस्थामा अझै सुधार हुन सकेको छैन । विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको मुलुक फागुनमा थप समस्यामा परेको अनुमान गरिएको छ । मूल्यवृद्धिदर बढेको छ । यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ । यद्यपि, बजारले २५ सयलाई मनोवैज्ञानिक तह मानेर त्यसभन्दा तल घट्न खोजिरहेको छैन । 

साताभरमा १० अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको हो । गत साता जीवन बिमा र व्यापारमूलक समूहबाहेक सबै समूहमा झिनो सुधार देखिएको छ । गत साता मैलुङ खोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ११ दशमलव ३८ प्रतिशतले बढेर ६ सय ८५ पुगेको छ । आइसिएफसी फाइनान्सको संस्थापक सेयर सबैभन्दा धेरैले घटेर दुई सय ८० मा आइपुगेको छ । फाइनान्सको संस्थापक सेयर २४ प्रतिशतभन्दा धेरैले घटेको हो । गत साता शिवम् सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यसको ५४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । 

प्राविधिक विश्लेषण 
गत साता चार दिन कारोबार हुँदा दुई दिन बजार घट्यो भने दुई दिन बढेको छ । सातामा पहिलो दुई दिन डोजी आकृति बने पनि तेस्रो दिन रातो (कालो) मैनबत्ती बनेको छ । चौथो दिन बनेको सेतो (हरियो) मैनबत्तीले अघिल्लो दिनको मैनबत्तीको शरीरलाई पूरै ढाकेर ‘इल्गफिङ बुलिस’ आकृति बनाएको छ । यसले बजार बुलिस प्रवृत्तिमा जाने संकेत गरिरहेको भए पनि यो संकेत मध्यम मानिन्छ ।

आइतबार बजार बढेर सेतो (हरियो) मैनबत्ती बनेर बिहीबारको भन्दा माथि पुगेर बजार बन्द भएमा ‘थ्री आउट साइड अप बुलिस’ प्रवृत्ति बन्नेछ भने बजार केही समय बढ्नेछ । नेप्सेको मुभिङ एभरेज रेखाले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । अर्थात्, २१ दिने रेखाले सातदिने रेखालाई काटेर माथि लागेकै अवस्था छ ।

तर, हाल नेप्से परिसूचकमा आएर सातदिने रेखाले टेवा पाएको छ । यो टेवा कति दरिलो हुनेछ, आगामी दिनबाटै थहा लाग्नेछ । सातदिने मुभिङ एभरेज रेखामाथि रहेमा बुलिस प्रवृत्ति कायम रहने, तर २१ दिने रेखा माथि लागेमा बियरिस प्रवृत्ति सुरु हुने विश्लेषण गरिन्छ ।

नेप्सेको आरएसआई सूचक हाल २५ दशमलव ३९ मा छ । यसले बजार न्यूनतम बिन्दुनजिक आइसकेकाले छिट्टै नै बजार सामान्य भए पनि बढ्ने संकेत गर्छ । केही दिनअघि २१ दशमलव ८१ मा पुगेर आरएसआई फर्किने क्रममा छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।  

गत साता दुई हजार पाँच सय ६८ मा उच्च बिन्दु बनाएको नेप्से अन्तिम दिन बढेको छ । नेप्सेले आगामी साता दुई हजार पाँच सय ९० मा पहिलो लक्ष्य सामना गर्नेछ । त्यहाँबाट बजार ओरालो लागेमा दुई हजार पाँच सय २१ मा पहिलो टेवा पाउनेछ । 
 

See More On

सुझावित समाचार