अधिकांश पश्चिमा असाधारण समयमा असाधारण पहलकदमी लिनुपर्छ भन्ने विश्वास गर्छन् र हालको द्वन्द्व निरुपण गर्न चीनले प्रमुख भूमिका खेल्न सक्छ भन्ने पनि मान्छन् । अर्कातिर नेटो विस्तारसम्बन्धी रुसी चासोप्रति सहानुभूति राख्नेहरू चीनले हस्तक्षेप गर्नुको कुनै तुक नभएको तर्क गर्छन् । तर, दुवै पक्षबाट ‘आखिर चीनले युक्रेनमा शान्ति पुनस्र्थापना र स्थायित्वका लागि के गर्न सक्छ त ?’ भन्ने एक स्वाभाविक एवं महत्वपूर्ण प्रश्न उब्जिएको छ ।
चीनले तीन महत्वपूर्ण क्षेत्रमा पहलकदमी लिन सक्छ । पहिलो– चिनियाँ रााष्ट्रपति सी जिनपिङले युक्रेनमा निःसर्त युद्धविराम र शान्ति–सम्झौताका लागि एजेन्डा निर्माण गर्न जी २० को आपत्कालीन बैठक डाक्नुपर्छ । जी २० का सदस्य रहेका दुवै चीन र रुसले संकट निरुपणमा भूमिका खेल्न सक्छन् । यसका लागि रुसी राष्ट्रपतिले झैँ चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना लागि बनाएको उत्तर–महामारी लकडाउन संहितालाई तोडेर व्यक्तिगत रूपमा बैठकमा उपस्थित हुनुपर्छ । स्मरण रहोस्, चिनियाँ राष्ट्रपतिले पछिल्ला दुई वर्षदेखि मुलुक छाडेका छैनन् ।
दोस्रो– चीनले मानवीय सहायताका लागि उल्लेख्य योगदान गर्न सक्छ । युक्रेनका करिब २० लाख शरणार्थीलाई (जहाँ कम्तीमा आधा शरणार्थी बालबालिका छन् र शरणार्थी संख्या बढेर ४० लाख पुग्ने सम्भावना अत्यधिक छ) आश्रय दिने छिमेकी मुलुकलाई मानवीय सहयोगको खाँचो छ । चीनले विनाकुनै सर्त युनिसेफलाई कम्तीमा ५० अर्ब डलरको अनुदान दिनुपर्छ ।
तेस्रो– चीनले युक्रेनको पुनर्निर्माणमा सघाउन सक्छ । युक्रेनका सहरी पूर्वाधारलाई तहसनहस गर्ने उद्देश्यले अहिले रुसले नृशंस ढंगले बमबारी गरिरहेको छ । युक्रेनी सरकारले हालसम्म करिब १० अर्ब डलरको युद्धसम्बन्धी क्षतिको अनुमान गरेको छ र आउने दिन तथा सातामा थप बढ्न सक्छ । सन् २०२० को प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अर्थात् जिडिपी (क्रयशक्ति समानताका आधारमा) १२०औँ स्थानमा रहेको अर्थतन्त्रलाई तुरुन्तै पुनर्निर्माणको खाँचो छ, यद्यपि यो काम युक्रेनका लागि बोझिलो हुनेछ । चीनले यस सन्दर्भमा युद्धपश्चात्को युक्रेनमा अनुपम आधुनिक पूर्वाधार लगाएर युक्रेनलाई तीन अर्ब पचास करोड डलरबराबरको सहयोग गर्नुपर्छ र यो सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र चीन नेतृत्वको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकबाहेकको हुनुपर्छ (युक्रेन सन् २०१७ मा बिआरआईको सदस्य बनेको हो) । अहिलेको समय चीनका लागि अमेरिकाले विश्वयुद्धपश्चात् युरोपका लागि गरेको विकास सहयोग मार्सल प्लानजस्तै सहयोगको मौका हो ।
मैले प्रस्ताव गरेको योजना अचुक छैन, यद्यपि युक्रेन जल्दै गर्दा र त्यहाँका मानिस विशेषतः बालबालिकाले भोगिरहेको चरम अप्ठ्यारालाई यो योजनाले राहत दिन सक्छ । यसले चीनलाई अप्ठ्यारो अवस्थामा धकेल्न सक्छ भन्नेमा सन्देह रहेन, तर नेतृत्व सजिलै हासिल हुँदैन । पछिल्लो ७५ वर्षमा मोटामोटी रूपमा युरोप युद्धको सम्मुख देखिएको थिएन र अहिले चीनलाई आफ्नो नेतृत्व साबित गर्ने मौका छ । अर्को ध्यान दिनुपर्ने विषय के हो भने अहिले दोस्रो विश्वयुद्धभन्दा विकराल अवस्था निम्तिने देखिन्छ । अर्थात्, अहिले दुई आणविक शक्तिराष्ट्र अत्यधिक खतरनाक युद्धका सम्मुख छन् । र, पुटिन आफैँ ‘मानव इतिहासले नभोगेको परिणाम निम्तिने’ भन्दै चेतावनी दिइरहेका छन् ।
यस अवस्थामा चीन मात्रैले पुटिनलाई सुझबुझपूर्ण बाटोमा ल्याउन सक्छ । कडा पश्चिमा प्रतिबन्धले उनको रौँ पनि हल्लिएको छैन । अघिल्लो महिना चीनसँग गरेको ‘असीमित’ साझेदारीको बलविना ढिलोचाँडो रुसी अर्थतन्त्र विस्फोटन अवस्थामा पुग्नेछ । पश्चिमा प्रतिबन्धले निम्त्याएको पीडाभन्दा चिनियाँ नीतिले पुटिनलाई प्रभाव पार्छ । त्यसबाहेक विश्वशान्तिको जिम्मेवारीभन्दा रुससँगको सहकार्यलाई दिएको प्राथमिकताले चीनलाई सम्भावित क्षतितर्फ उन्मुख गराइरहेको छ । पश्चिमा जगत्ले रुसमाथि दिनानुदिन प्रतिबन्ध थप्दै गइरहेको अवस्थामा वरिष्ठ अमेरिकी अधिकारी खुला रूपले रुसलाई सहयोग गर्ने चिनियाँ कम्पनीले प्रतिकूल प्रभाव झेल्नुपर्ने चेतावनी दिइरहेका छन् । चीनले सो परिस्थितिलाई तुरुन्तै काबुमा ल्याउनुपर्छ ।
सिद्धान्तनिष्ठ मुलुकका लागि वास्तवमा उल्लिखित विकल्प स्वाभाविक हो । चाउ एनलाईको पाला अर्थात् सन् १९५० को मध्यदेखि चीनले पञ्चशीलको सिद्धान्तमाथि दृढ प्रतिबद्धता जनाउँदै आएको छ, जहाँ राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सम्मान, परस्पर अनाक्रमण, एक–अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप पनि रहेका छन् । युक्रेनमाथिको रुसी आक्रमण यी पवित्र सिद्धान्तको उल्लंघन हो । चीनलाई आफ्ना मूल्य–मान्यतामा अडिग रहेर रुसलाई सघाउने ठाउँ छैन ।
यो पनि सत्य हो कि रुससँगको हालैको साझेदारी सम्झौता चीनले नेटोको फैलावट र रुसको सीमा सुरक्षामा चासो राखेको थियो । र, यी चासोलाई चीनले नेतृत्व गरेको आपत्कालीन जी २० बैठकमा राख्न सक्छ । यस परिस्थितिमा चीनसँग द्वन्द्व निरूपण गर्ने एक इमानदार मध्यस्थ हुने मौका छ । तर, यसका लागि युद्धको अन्त्य अपरिहार्य छ । सीले पछिल्लो १० वर्षदेखि चीनको पथ परिवर्तन गर्ने अठोट लिएका छन् ।
एक शताब्दीको अपमानको जगको संघर्षमा उभिँदै सन् २०४९ सम्ममा शक्तिशाली ‘आधुनिक समाजवादी राज्य’ लक्ष्य र हालसालैको ‘साझा समृद्धि’को भाष्यले उचाइ प्राप्त गरेको छ । तर, भाष्य कुनै समयमा खोक्रो पनि हुन पुग्छ । अहिलेको अवस्थामा थप नारा र भाष्यको आवश्यकता छ, अर्थात् जिम्मेवार विश्व नेतृत्वको भाष्य टड्कारो छ । यो नाराले बाँकी विश्वलाई चुनौती पनि दिनेछ । तर, यो हाम्रो समस्या हो, किनभने हामी पश्चिमाले युक्रेन त्रासदी रोक्नका लागि खासै राम्रो काम गर्न सकेनौँ । तात्पर्य चीनले मात्रै रुसलाई रोक्न सक्छ । प्रोजेक्ट सिन्डिकेटबाट