पर्यटकीय सिजन सुरु हुनुभन्दा अगाडि नै ताप्लेजुङमा आउन थाले आन्तरिक तथा विदेशी पर्यटक
कोरोना महामारीका कारण दुई वर्षदेखि शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने सिजन सुरु हुनुभन्दा अगाडि नै चलायमान बनेको छ । ताप्लेजुङ घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको वृद्धि भएको छ ।
अघिल्लो वर्ष जिल्लामा वर्षभरिमा जम्मा ४३ जना मात्र पर्यटक आएका थिए । तर, यस वर्ष आन्तरिक ६० र विदेशी ८३ जना पर्यटक भित्रिएको कञ्चनजंघा संरक्षण क्षेत्र कर्यालयका रेन्जर विशाल सिन्तानले बताए । ताप्लेजुङमा ८५८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो कञ्चनजंघा, आठ हजार मिटरभन्दा अग्ला दुईवटा हिमाल र सात हजार मिटरमाथिका ११ वटा हिमाल रहेका छन् । धार्मिक पर्यटकका लागि पाथीभरा देवीको मन्दिर छ । फुङफुङे झरना, सिजिमा ताललगायत पोखरीसमेत छन् ।
ताप्लेजुङमा युरोप, अमेरिका, चीन, भारतलगायत देशका पर्यटक आउने गरेका छन् । जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा नौ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा लिने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशी पर्यटक शून्य नै गरेको छ । तर, यस वर्ष भने फागुनमा पर्यटक भित्रिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा सात सय ६५, आव ०७५/७६ मा आठ सय ६ जनाले ताप्लेजुङ भ्रमण गरेका थिए । आव ०७७/७८ मा भने हालसम्मकै कम ४३ जना विदेशी पर्यटक भित्रिएका थिए ।
ताप्लेजुङ पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर, विमानस्थल भएर पनि जहाज नचल्दा पर्यटकलाई तान्न नसकिएको पर्यटन व्यवसायीको गुनासो छ । ‘पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ, जहाजबाट आउन र फर्कन पाए भ्रमण अवधि छोटिने भएकाले पर्यटक काठमाडौंबाट सीधै सुकेटार विमानस्थल आउन चाहन्छन्, यसो गरे उनीहरूलाई भाडा पनि सस्तो पर्छ, तर जहाज नियमित नचल्दा काठमाडौंबाट झापाको भद्रपुर आएर गाडीमा आउनुपर्ने हुँदा कम मात्रै आउने गरेका छन्,’ परिषद अध्यक्ष फेम्बुले भने ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासँगै कुम्भकर्णलगायतका हिमशृंखलाको अवलोकन गरेपछि जेठ, असारतिर वर्षात् सुरु भएसँगै पर्यटकहरू फर्कने गरेका छन् । पानी पर्नासाथ कञ्चनजंघा हिमाल आधार शिविरभन्दा तल रहेको बस्ती घुन्साबाट सबै पर्यटक समूह सदरमुकाम फुङलिङतर्फ फर्किने घुन्साका स्थानीय बताउँछन् । हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू धेरै पानी पर्न थालेपछि आ–आफ्ना देश फर्कने गरेको पर्यटन व्यवसायी चुङदा शेर्पाले बताए ।
असार, साउनमा बाढीपहिरो र मंसिर, पुस, माघमा हिउँका कारण हिँड्डुल गर्न जोखिम हुने गरेको छ । पर्यटकको सेवाका लागि माथिल्ला क्षेत्रमा बसेका स्थानीय पनि चिसो र हिमपात हुनुपूर्व तल्लो क्षेत्रमा झर्ने गरेका छन् । रोनाक, पाङपेमा, सेलेले, लोङथाङलगायत स्थानबाट स्थानीय पनि घुन्सा फर्किन्छन् । पर्यटकीय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि केही किलोमिटरमाथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८५८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, आठ हजार मिटरमाथिका अरू दुईसहित सात हजार मिटरमाथिका ११ वटा हिमशृंखला अवलोकन गर्न पाइन्छ ।