नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्ने बताएका छन्। उनले राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ओभर पोलिटिसाइज नगरी प्रजातान्त्रिक विधिसम्मत तरिकाले कार्य गर्नुपर्ने बताए।
शनिबार काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई धुलिखेलमा सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरूले भाषणबाजी मात्र नभई शिक्षा, उद्योगजस्ता समाज रूपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गर्नुपर्ने बताए। अबको समय आइटी र फाइनान्सको रहेको बताउँदै उनले शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए।
फरक प्रसंगमा उनले संविधानसभाबाट संविधान जारी गर्न फेल भएकालाई पुनः दुईतिहाइ मत दिएर नेतृत्व सुम्पिँदा संघीयता संस्थागत हुन नसकेको नेता सिंहले टिप्पणी गरे। संविधान जारी भएपछि बनेको दुईतिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा प्रदेश सरकारसहित प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःखःझेल्नुपरेको उनले बताए।