पत्रकार महासंघ प्रदेशको पहलमा नौ सय पत्रकारको दुर्घटना बिमा

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका नौ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरू भवितव्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरूका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय बिमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी समझौता गरिएको हो । मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीबीच कानुनी प्रक्रिया पुर्याएर सम्झौता गरिएको हो। 

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने बताए । आमनागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आमनागरिकको सुरक्षाप्रति संवेदनशील रहेको मन्त्री शर्माको भनाइ छ । मुलुकको परिवर्तनमा पत्रकारहरूको ठूलो भूमिका रहेकाले पत्रकारहरूको दुर्घटना बिमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्वता जनाए । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्वति बनाउनुपर्नेमा जोड दिइन् । पत्रकार महासंघ लुम्बिनी अध्यक्ष वसन्तराज गिरीले प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरूको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न आग्रह गरे ।

उनले  मिडियाको लागि छुट्टाइएको बजेट समयमा सही ठाउँमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे । लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सयभन्दा बढी पत्रकार भए पनि यसअघि जिल्लाको बिमा पोलिसीमा सहभागी नभएका पत्रकारहरूको मात्र पहिलो चरणमा बिमा गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।
 

सुझावित समाचार