क्रान्तिकारी नेता चे ग्वेभारालाई गोली हान्ने सैनिकको निधन भएको छ। बोलिभियाका सैनिक रहेका मेरियो तेरानको ८० वर्षको उमेरमा बिहीबार निधन भएको द गार्जियनले जनाएको छ। उनले सन् १९६७ मा ग्वेभेरामाथि गोली चलाएका थिए। उनीसहितको टोलीले ग्वेभाराको खोजीमा एक महिना लामो अप्रेसन गरेको थियो। तेरान लामो समयदेखि बिरामी परेका थिए।
अर्जेन्टिनाका चिकित्सक ग्वेभारासहितले सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा तानाशाह फुल्जेन्सियो बाटिस्टालाई पराजित गरेर क्युबाली क्रान्ति सम्पन्न गरेका थिए। त्यसपछि उनी केही समय क्युवाको सरकारमा रहेर पछि क्रान्तिका लागि बोलिभिया पुगेका थिए।
सेनाद्वारा हत्या गरिँदा ग्वेभारा ३९ वर्षका थिए। ‘त्यो मेराे जीवनकै खराब समय थियो,’ पछि तेरानले भनेका थिए, ‘मैले चेलाई विशाल देखेको थिएँ। उनका चम्किला आँखाले मलाई हेरिरहेका थिए। उनी मेरोछेउमा आएको महसुस गरेँ। म केही हडबडाएको थिएँ। र, मेरा आँखा तिर्मिराएका थिए।’
चेले त्यतिवेला आफूलाई धैर्य रहन भनेको उनले पत्रकारहरूलाई सुनाएका थिए। ‘तिमीले एउटा मानिसलाई मार्दै छौँ। राम्रोसँग निसाना लगाऊ,’ चेले यति भनिसकेपछि आफू पछाडि गएको र आँखा चिम्लेर ट्रिगर दबाएको उनले बताएका थिए।