मदानेमा पुस्तान्तरण हुँदै पञ्चेबाजा

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण
मदानेमा पुस्तान्तरण हुँदै पञ्चेबाजा

तस्बिर : मदाने गाउँपालिका–४ म्यालपोखरीको पञ्चेबाजा समूह ।

कालो भादगाउँले टोपी र दौरा–सुरुवालामा चिटिक्क परेका थिए १४ वर्षीय सुशील परियार। बिहीबार ‘खरका छानामुक्त मदाने गाउँपालिका घोषणा’ सभामा सुशीलले दमाह र झ्याली बजाएको देखेर धेरैजना छक्क परे। उनले पञ्चेबाजा बजाउन थालेका तीन वर्ष भयो। अचेल उनी धेरै ठाउँमा बाजा बजाउन पुग्छन्।

झ्याली र दमाहबाट सुरु गरेका सुशील बिस्तारै अरू बाजा बजाउने अभ्यासमा छन्। उनी म्यालपोखरी माविको कक्षा चारमा अध्ययनरत छन्। विद्यालय छाडेरै पनि बाजे र काकाहरूसँग बाजा बजाउन हिँड्ने गरेको उनी बताउँछन्। उनकै उमेरका अरू बालबालिकाले पनि बाजा बजाउँछन्।

नेपालमा विवाह, भोज, मेला, महोत्सवजस्ता कार्यहरूमा पञ्चेबाजा बजाउने प्रचलन भए पनि अझै यसले व्यावसायिक रूप लिएको छैन। बाजा बजाएरै परिवार पाल्न नसक्ने भएपछि युवाहरू पेसा बदल्ने र विदेश पस्ने क्रम बढ्दो छ। तर, मदाने गाउँपालिका– ४ का परियार समुदायमा भने पञ्चेबाजा पुस्तान्तरण हुँदै आएको छ।

तन्नेरीकै लयमा वृद्धहरू
म्यालपोखरीका ७३ वर्षीय खिमबहादुर परियार सनाई बादक हुन्। उनले अझै पनि तन्नेरीले जस्तै सनाई बजाउँछन्। सोही गाउँका ६६ वर्षीया रुद्रबहादुर परियार पनि सनाई बजाउँछन्। सनाई बजाउन निकै गाह्रो मानिन्छ। तर, दुवैजनाले १४–१५ वर्षकै उमेरबाट सनाई बजाउन थालेका हुन्। कपाल फुलेर सेतै हुँदा पनि उनीहरूको तन्नेरी जोस भने हराएको छैन।

‘उमेरमा तीन दिन तीन रात बजाउँथ्यौँ। अहिले सास पुर्याएर सनाई फुक्न पर्ने भएकाले निकै गाह्रो पर्छ,’ खिमबहादुरले भने, ‘नयाँ पुस्ताकै लागि मैले बजाइरहेको छु।’ यो पेसा दलित समुदायसँग मात्रै जोडिएको भन्ने परम्परावादी सोचका कारण अन्य समुदायमा पञ्चेबाजा मोह नभएको टेम्को बादक ५४ वर्षीय रेशम परियारले बताए।

पश्चिमा संकृतिको चपेटामा पञ्चेबाजा !
पछिल्लो समय पञ्चेबाजा पश्चिमा संस्कृतिको पचेटामा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आइरहेका छन्। मन्दिर र अदालतमा विवाह गर्ने चलन बढ्दो छ। मन्दिर र घरमै हुने उत्सवहरूमा पनि ड्याग (साउन्ड सिस्टम)ले प्राथमिकता पाउने गरेको छ। जनशक्ति कम र खर्चका हिसाबले पनि सहज हुने भएकाले पञ्चेबाजाभन्दा ड्याग खोज्न थालिएको छ।

म्यालपोखरीका १४–१५ घरका परियारले बाजा बजाउँछन्। एक सेट बाजामा कम्तीमा १३ जना आवश्यक पर्छ। उनीहरूले दिन र ठाउँ हेरेर पारिश्रमिक पाउँछन्। लगनको वेला महिनाभर व्यस्त भए पनि अरू महिनामा दुई–तीन ठाउँबाट मात्रै बाजाको माग आउँछ। यहाँका ३९ वर्षीय पुनाराम परियार उमेरले दोस्रो पुस्ताका हुन्। उनलाई प्रायः सबै बाजा बजाउन आउँछ। आफूहरूले दर नतोकेकाले मुखबोलीकै भरमा पारिश्रमिक पाउँदा व्यावसायिक बन्न निकै मुस्किल परेको उनी बताउँछन्। ‘लगनमा बाहेक सधैँ बोलाउँदैनन्। ड्यागको प्रयोग र राम्रो पारिश्रमिक नभएको कारण युवाहरूमा चासो छैन,’ उनले भने, ‘मैले त बुबा र काकाहरूसँग हिँड्दा–हिँड्दै सिकेँ, अहिलेसम्म बजाइरहेको छु।’

गाउँपालिकाद्वारा बाजा र पोसाक प्रदान
स्थानीय कला संस्कृतिको संरक्षण र पेसासँग जोडिएका समुदायहरूलाई स्थानीय तहले प्रोत्साहन गरिरहेका छन्। गाउँमा प्रायः बाजा विस्थापित हुने चरणमा थियो। कतिले बजाइरहेको बाजा बेच्न थाले। पञ्चेबाजा विस्थापित हुन थालेपछि मदाने गाउँपालिकाले प्रत्येक वडामा बाजा र पोसाक प्रदान गर्याे। मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलका अनुसार गाउँपालिले आर्थिक वर्ष ०७४ देखि ०७६ सम्म एक–एक लाख विनियोजन गरेर बाजा र पोसाक प्रदान गरेको छ। बाजा महँगो हुने भएकाले गाउँपालिकाले आफूहरूलाई ठूलो सहयोग गरेको ६३ वर्षीय घनबहादुर परियारले बताए।

सुझावित समाचार