एकीकृत समाजवादीको चुनावकेन्द्रित कार्ययोजना तयार

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

चुनावकेन्द्रित कार्ययोजना पारित गर्दै एकीकृत समाजवादीको दुई दिन चलेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । बैठकले केन्द्रीय सदस्यलाई वडा तहसम्म खटाउने तथा घोषणापत्र बनाएर पार्टीका नीति एवं कार्यक्रम जनताकहाँ पुर्‍याउनेलगायतका कार्ययोजना बनाएको छ । चुनावी अभियानमै संगठन विस्तार गर्ने एकीकृत समाजवादीको निर्णय छ । 

बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ‘आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने गरी कार्ययोजना पारित गरेका छौँ,’ बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘स्थानीय तहको चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यलाई वडा तहसम्म खटाउने योजना बनाएका छौँ ।’ एकीकृत समाजवादीमा अहिले ३३५ केन्द्रीय सदस्य छन् । 

डेढ महिनाको चुनावकेन्द्रित कार्यक्रम लिएर आफूहरू जनताको घर–घरमा पुग्ने पार्टी उपमहासचिव गंगालाल तुलाधरले बताए । उनले चुनावी कार्यक्रम र पार्टी कमिटी निर्माण सँगसँगै अघि बढाउने समेत बताए । ‘करिब पाँच हजारको हाराहारीमा हाम्रो कमिटी बनेका छन् । अब हामी एक–डेढ महिनाको कार्यक्रम लिएर जान्छौँ,’ बैठकपछि उनले भने, ‘केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्दै छौँ । वडा कमिटी बन्ने काम र चुनावको प्रचार प्रसार एकैपटक हुन्छ । फरक ढंगले आउनुपर्ने कारणबारे जनतालाई घरघरमा गएर भन्छौँ ।’

पार्टी अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफलको निष्कर्ष प्रदेश–१ बाट धर्मराज पौडेल, मधेस प्रदेश सत्यनारायण यादव, बागमतीबाट विदुर सापकोटा, गण्डकीबाट रेखा थापा बस्याल, लुम्बिनीबाट राज गुरुङ, कर्णालीबाट अमर थापा, सुदूरपश्चिमबाट शेरबहादुर कुँवर, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेलले राखेका थिए । सबै समूहका नेताहरूले पार्टीको ध्यान आसन्न स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने बताएका थिए । एक केन्द्रीय सदस्यले भने, ‘सबैको चासो निर्वाचनमा थियो । पार्टीको घोषणापत्र तयार गर्ने र त्यसलाई जनतासमक्ष तत्काल पुर्‍याउनुपर्ने कुरा उठ्यो । सबैको राय यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्ने थियो ।’

बैठकले विभिन्न प्रस्ताव पनि पारित गरेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायम राखिनुपर्नेमा एकीकृत समाजवादीको जोड छ । प्रस्तावमा छ, ‘आगामी स्थानीय निर्वाचनमा आफ्नो शक्तिलाई संगठित र मजबुत बनाउँदै गठबन्धनमा रहेका सबै दलसँग सहकार्य गरी उम्मेदवारलाई अत्यधिक स्थानमा निर्वाचित गराउन, स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त गर्न र जनमुखी ढंगले परिचालन गर्न प्रतिबद्धता जाहेर गर्दछौँ ।’

सुझावित समाचार