सर्लाहीको बागमतीमा आयोजना हुँदै आएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको छैटाैँ संस्करण आगामी चैत २ गतेबाट सुरु हुने भएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६, मोफसलका चार तथा एक पाहुना टोली र आयोजक बागमतीसमेत गरी १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ।
सार्वजनिक तालिकाअनुसार विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब, मच्छिन्द्र क्लब, मनाङमर्स्याङ्दी, न्युरोड टिम (एनआरटी), नेपाल आइस हिमालयन शेर्पा, पाहुना एभिनियर फुटबल क्लब क्यामरुन, पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम ११ धनगढी, नवजनजागृति युवा क्लब सिमरा र केबिए ग्लोबल एफसी चितवनले सहभागिता जनाउनेछन्।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताएका छन्। आयोजकमध्येको बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानले सम्पूर्ण खेलप्रेमी दर्शक र स्थानीयको सहयोगबाट प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताइन्। चैत १३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा चैत २ गते मनाङमर्स्याङ्दी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
करिब ८० लाख लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ट्रफी र नगद १० लाख एक हजार रुपैयाँ तथा उपविजेताले नगद पाँच लाख एक हजार, सिल्ड र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको खर्च क्लबको अक्षय कोष, बागमती नगरपालिकाको सहयोग, टिकट र सहयोगी समूहबाट संकलन गरिएको क्लबका सचिव कुमार प्रधानले जानकारी दिए।