भुवन नगरकोटी र सञ्जय लामाबीच सूर्य नेपाल एनपिएजी गल्फ प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२१–२२ अन्तर्गतको एनपिजीएमा बुधबार भुवन र सञ्जयले सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् ।
प्रतियोगिताकै शीर्ष वरीयताका भुवनले पाँचौँ स्थानका धनबहादुर थापालाई ७–६ को स्कोरमा पराजित गरे । चौथो स्थानका सञ्जयले तेस्रो वरीयताका विकास अधिकारीलाई अन्तिम होलमा पाखा लगाउँदै भुवनविरुद्धको भिडन्त पक्का पारे । भुवन र सञ्जयले बिहीबार ३६ होलमा फाइनल खेल्नेछन् । यसैगरी धन र विकासबीच तेस्रो स्थानका लागि १८ होलमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि क्वार्टरफाइनलमा भुवनले दिनेश प्रजापतिलाई हराएका थिए । धनबहादुरले रामे मगरमाथि ४–३ को जित निकालेका थिए । सञ्जयले जयराम श्रेष्ठविरुद्ध ५–४ को जित हात पारे । विकासले दीपक मगरलाई स्तब्ध पारे ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रो स्थानकाले २२ हजार तथा चौथो स्थानमा रहने खेलाडीले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी क्वार्टरफाइनलबाट बाहिरिने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो चरणमा पराजित भएका खेलाडीले पाँच हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।