नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनले नेतृत्व गरेको दल एमालेलाई पाखण्डी दल भनेका छन्। नेपाल दलित संघ गण्डकी प्रदेशको प्रथम भेलाको बुधबार उद्घाटन गर्दै उनले यस्तो भनेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्र छाप्दा हरियो रङमा चिह्न छाप्ने सार्वजनिक गरेसँगै यसको विरोध गर्दै आएका छन्। ‘ओलीले पोखरामै आयोजित कार्यक्रममा ‘निर्वाचन आयोगले कुनै दललाई बचाइदिन उसको निर्वाचन चिह्न हरियो भएका कारण सबै चिह्न हरियो बनाउने निर्णय गर्यो। यो हामीलाई स्वीकार्य छैन। यो हाम्रा विरुद्धको षड्यन्त्र हो,’ भनेका थिए।
त्यही भनाइप्रति कांग्रेस वरिष्ठ नेता पौडेलले आक्रोश पोखेका हुन्। उनले भने, ‘निर्वाचन अयोगले हरियो छाप लगाउन भनेछ। हरियो त देख्न नचाहने केपी ओली, जंगल हरियो हुन्छ। त्यही भएर जंगल फाँड्ने ? हरियोको विरोध गर्ने जात हेर्नुस् त कस्तो हुन्छ।’
नेता पौडेलले एमालेले संसद् चल्न नदिने तर भत्ता खाने काम गरेको टिप्पणी गरे। एमसिसी अनुमोदनका लागि आफैँले संसदमा पेस गर्ने एमालेले पास गर्ने वेला संसद् अवरोध गरेको उनले बताए। त्यसैगरी जनतालाई झुक्याएर दुईतिहाइ ल्याए पनि दुई–दुईपटक संसद् विघटन गरेर जनताको अपमान गरेको उनको भनाइ छ।
‘जनताले भोट दिएर पठाउने अनि उसले संसद् भंग गर्ने जनमतलाई फाल्ने। केपी ओली पाखण्डी हुन्। उसको दल एमाले पाखण्डी दल हो। दुई-दुई पटक संसद भंग गरे। अनि अहिले पुनर्स्थापित संसद् चल्न दिएन। भत्ता भने खाइरहनुपर्ने। यस्ता पाखण्डीलाई जनताले किन भोट दिने ?’ उनले आक्रोशित हुँदै भने, ‘यो कम्युनिस्ट भन्ने एमालेलाई जनताले भोट दिनै हुँदैन। संसदमा पठाउनै हुँदैन।’