कांग्रेस सिराहा सभापतिमा यादव निर्वाचित, पुन: निर्वाचन गराउन चौधरी पक्षको माग

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

कांग्रेस सिराहा सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । एक हजार चार सय २६ मत ल्याएर उनी विजयी भएका हुन् । निर्वाचन अधिकृत सञ्जीवकुमार लामाले सभापतिका प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले आठ सय ८७ मत ल्याएको जानकारी दिए ।

सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरी पक्षले सोमबार मतदान र मंगलबार मतगणना बहिष्कार गरेको थियो । निर्वाचन अधिकृत लामाले सोमबार राति साढे ९ बजेसम्म भएको मतदानमा करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको बताए । जसमध्ये एक सय ६० मत बदर भएको थियो । कांग्रेस नेत्री सीतादेवी यादव, सांसद पद्मनारायण चौधरी, प्रदेश सांसद नरेशकुमार यादव, महासमिति सदस्य डा. सुभाषचन्द्र यादवलगायतका नेताहरू धाँधली भएको भन्दै विरोधमा उत्रिएका थिए । उनीहरूले प्रहरी प्रशासनको आडमा धाँधली गरिएको आरोप लगाएका छन् । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सभापति पदका प्रत्यासी चौधरी समूहले मतदान बदर गरी पुनः अर्को निर्वाचन गराउन माग गरेको छ । मंगलबार साँझ लहानमा पत्रकार सम्मेलनमार्फत सो समूहले सो विषयमा सोमबार साँझ कांग्रेस केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी पठाएको जनाएको छ । सभापति पदका प्रत्यासी चौधरीसहित उनको प्यानलका सबै उम्मेदवारहरूको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वले बेवास्ता गरे समानान्तर जिल्ला समिति चलाउने चेतवानीसमेत दिइएको छ । 

सुझावित समाचार