आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंकन नाभी टोलीलाई ८१ रनले हराएको छ । नेपालले लगातार दोस्रो खेलमा सफलता हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा एक सय ९६ रनमा अलआउट भयो । नेपाली ब्याट्सम्यान दोस्रोपटक पनि पुरै इनिङ्स ब्याटिङ गर्न सकेनन् । नेपालको ब्याटिङमा फर्ममा रहेका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान दिएका थिए । नेपालका लागि विवेकुमार यादवले २६ रन र भीम कार्कीले दोस्रो सर्वाधिक २८ रनको योगदान दिएका थिए ।
एक सय ९७ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाली नाभीले ३०.५ ओभरमा एक सय १५ रन मात्र जोड्दा नेपाल ८१ रनले विजयी भयो । नेपालका लागि पवन सर्राफले सर्वाधिक दुई विकेट लिएका थिए । बलिङ पनि दीपेन्द्रसिंहले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट हात पारे । यसैगरी कप्तान सन्दीप लामिछाने, विक्रम सोव तथा कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।
नेपालको ब्याटिङमा पूर्वकप्तान एक रनमै आउट भए । उनी पहिलो अभ्यास खेलमा पनि एकै रनमा पेभेलियन फर्केका थिए । यसैगरी ओपनर कुशल भुर्तेल तीन रन, मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल, आठ रन, आक्रामक ब्याट्सम्यान विनोद भण्डारी दुई रन तथा सागर ढकालले आठ रन जोडे । कप्तान सन्दीप १४ रनमा नटआउट रहे ।
१६ मार्चदेखि युएईमा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदै छ । जसमा नेपालको पहिलो खेल पपुवा न्युगिनीविरुद्ध १६ मार्चमा हुनेछ । सिरिजमा नेपालले दुई टोलीविरुद्ध समान दुई खेल खेल्नेछ । लिग २ सिरिजमा नेपालले आठ खेलबाट आठ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । अहिलेसम्म नेपालले चार जित र चार हारको सामना गरेको छ । शीर्ष स्थानमा ओमान रहेको छ । ओमानले २३ खेलबाट सर्वाधिक २३ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १६ अंक बनाएको छ । स्कटल्यान्डले १२ खेल खेलेको छ । यसैगरी तेस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलमा १४ अंक हात पारेको छ । आयोजक युएई १२ अंकका साथ चौथो स्थानमा छ ।