नापीको त्रुटिले गाउँ नै समस्यामा : जग्गा एउटाको, पुर्जा अर्कैलाई

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

नापी कार्यालयको त्रुटिका कारण  दाङको एउटा गाउँ निकै तनावमा परेको छ। तुलसीपुर उपमहानगरपालिका– १९  को भित्री स्यालापानी र बाहिरी स्यालापानीका करिब ४०  घरपरिवार नापीको गल्तीले समस्या परेको छ। घर र जग्गा भोग एउटाले गरिहेको छ, तर पुर्जा भने अर्कैको नाममा छ।

स्थानीय संगीता बस्नेतको परिवारको नाममा १६  कट्ठा चार धुर जग्गा छ  । तर, उनीहरूले चार  कट्ठा  मात्रै भोग गर्दै आएका छन्। उनीहरूको नामको जग्गा अर्कैले भोग गर्दै आएका छन्। त्यस्तै, दरिभान घर्तीको परिवारले ०१६ सालमा सोही स्थानमा जग्गा किनेर घरवाससमेत बनाए। तर, उनीहरूले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ। त्यति मात्र होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि जग्गा किन्यो। फिल्डमा हेरेर खेत किने पनि नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ। अहिले  त्यही पाखो  जग्गा उनीहरूले  भोग गर्दै आएका छन्।

जग्गा अर्काको नाममा परेर यस गाउँमा यस्तै थुप्रै समस्या देखिएका छन्। यहाँका करिब ४० घरको यस्तौ समस्या छ। भोग गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या भएको स्थानीय संगीता बस्नेतले बताइन्। ‘हाम्रो जग्गा १६  कट्ठा चार धुर हो, तर अहिले हामीले ४ कट्ठा मात्रै उपभोग गर्दै आएका छौँ,’ उनले भनिन्, ‘भोग  गर्दै  आएको जग्गा पनि हाम्रो नाममा छैन, त्यति मात्रै आफ्नो नाममा आए पनि  खुसी हुने थियौँ ।’ 

आफू बस्दै आए पनि पुर्जाअनुसार जग्गा अर्काको नाममा भएकाले बैंकबाट लिनसमेत नसकेको बताउँछन् स्थानीय दरिभान घर्ती। ‘हामीले किनबेच  पनि गर्न पाएका छैनौँ, बैंकबाट ऋण निकालेर केही काम पनि गर्न पाएका छैनौँ,’ उनले भने, ‘घर हालौँ भने पनि समस्या छ,’ उनले भने। 

घर्तीको परिवार  ०१६  सालमा यस स्थानमा बसोवास गर्न आएको हो। त्यसवेला ६ महिना यस ठाउँमा र बाँकी ६ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो। औलोको जोखिमले पनि यहाँका नागरिकहरू  पहाड जाने गर्थे। त्यहाँबाट पहाड गएको मौकामा नापी भएको घर्तीले बताए। ‘हामी ६ महिना दाङ बस्थ्यौँ, ६ महिना पहाड बस्थ्यौँ,’ उनले भने, ‘त्यही  मौकामा नापी आएर जग्गा नापेर गएछ। पछि मात्रै हामीहरूलाई थाहा भयो।’ यहाँका स्थानीयले ०५२/५३ तिर मात्र जग्गा किनबेच गर्ने क्रममा आफ्नो जग्गा नाप बिग्रिएको थाहा पाएको उनले बताए।

अहिले मालपोत एउटाले तिर्ने र भोग अर्कैले  गर्ने  अवस्था  सिर्जना भएको छ। ‘मालपोत कर हामीले तिर्छौँ,’ स्थानीय मीनप्रकाश विश्वकर्माले भने, ‘तर, जग्गा अर्कैले भोग गर्ने गरेका छन्।’ राजनीतिक दलहरूले मिलाउन चाहेमा यो केश मिल्न सक्ने भए पनि उनीहरूले आफ्नो स्वार्थलाई बढी ध्यान  दिएको स्थानीयको गुनासो छ।

यस विषयमा पटकपटक वडा, पालिका र नापी कार्यालयलाई झकझक्याउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गाकुमारी बस्नेतले गुनासो गरिन्। ‘हामीले नापी कार्यालयमा पनि झकझक्यायौँ, पटकपटक वडालाई पनि भन्यौँ, उपमहानगरपालिकामा पनि गयौँ,’ उनले भनिन्, ‘हुन्छ–हुन्छ भन्ने भयो, तर कुनै पनि निकायबाट यसमा चासो दिइएन।’

नापी कार्यालय तुलसीपुरका प्रमुख गणेशमान विश्वकर्मा भने यस विषयमा कुनै गुनासो नआएको बताउँछन्। ‘म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि यो समस्या ल्याएर आउनुभएको छैन,’ उनले भने, ‘यो  विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयहरू पनि एक–आपसमा  मिलेर आएमा सहज हुन्छ,’ उनले भने।

सुझावित समाचार