महिलाले प्राप्त गरेका अधिकार व्यवहारमै लागू हुनुपर्छ : मन्त्री भुसाल

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छिन्।

मंगलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी हुन्। 

उनले महिलाहरूले राजनीतिक, संवैधानिक र कानुनी रूपमा अधिकार पाए पनि व्यावहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताइन्। छोरीहरूलाई छोरासरह पैतृक सम्पत्तिमा अधिकार दिने कुरा संविधान र कानुनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन्। 

कानुनमा पाएका अधिकारलाई जीवन–व्यवहारमा लागू गर्नुपर्नेमा उनको जोड छ। ‘हामीले सबै अधिकार पाएका छैनौँ।  हामी ३३ प्रतिशत भन्दै र कतिपय कुरामा हामी ५० प्रतिशतको कुरा गर्दै आज महिला राष्ट्रपतिसम्म बनाउने ठाउँमा हामी पुगेका छौँ।  तर, के सबैले त्यही बराबर अधिकार पाएका छन् त ?’ भुसालले प्रश्न गरिन्। 

‘३३ प्रतिशत महिला भनेपछि को हो त १७ प्रतिशत ? त्यो अधिकार पाउन नपर्ने महिला ? या त सक्षम भएर भनौँ अब चाहिन्न भनेर या त ती १७ प्रतिशत महिला पनि अवसर र अधिकारबाट वञ्चित हुनुहुन्न।  त्यसैले ३३ को लागू गरेर १७ को अधिकारको प्राप्ति अबको आन्दोलनको एजेन्डा  हुनुपर्दछ,’ उनले भनिन्।  

अधिकार राजनीतिक, संवैधानिक र कानुनी हिसाबले मात्रै पाएर नहुने बताउँदै जीवन र व्यवहारमा लागू गर्नुपर्ने बताइन्। मन्त्री भुसालले अझै पनि महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनाहरू हुनु चुनौतीको विषय भएको बताइन्। महिलामाथि हुने अपराधलाई रोक्नु राज्यको कार्यभार भएको भन्दै उनले राज्यसँगै प्रत्येक व्यक्ति, परिवार र समाज पनि जिम्मेवार हुनुपर्ने बताइन्। 
 

सुझावित समाचार