प्रदेश १ मा आधारभूत अस्पताल : एउटा पालिकामा मात्र निर्माण सम्पन्न

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण
प्रदेश १ मा आधारभूत अस्पताल : एउटा पालिकामा मात्र निर्माण सम्पन्न

मोरङको केरावारी गाउँपालिकामा अलपत्र अवस्थाको निर्माणाधिन अस्पताल ।

पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा तीन सय ९६ स्थानीय तहमा ५, १० र १५ शय्याकोे आधारभूत अस्पतालहरू उद्घाटन गर्ने घोषणा गर्याे। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आधारभूत अस्पतालहरू उद्घाटन गरे पनि प्रदेश १ मा एक स्थानमा बाहेक कतै पनि अस्पताल निर्माण सम्पन्न भएको छैन।

उक्त योजनाअनुसार झापामा १२,  पाँचथर, इलाम, शंखुवासभा र ओखलढुङ्गामा सात–सात, भोजपुर र खोटाङमा ६–६, तेह्रथुम, सोलखुम्बु र सुनसरीमा पाँच–पाँच, धनकुटामा चार र मोरङमा नौ आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो।

तर, एक वर्ष बितिसक्दा प्रदेशको एक स्थानमा बाहेक कतै पनि अस्पताल निर्माण सम्पन्न हुन नसकेको इन्सेक प्रदेश कार्यालय विराटनगरको जनाएको छ। कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीका अनुसार ओखलढुंगाको खिजिदुम्बा गाउँपालिकाबाहेक अन्यत्र सबैतिरका आधारभूत अस्पतालहरू निर्माण सम्पन्न भएका छैनन्। उनका अनुसार इन्सेकले प्रदेश १ मा जिल्ला प्रतिनिधिहरूमार्फत आधारभूत अस्पतालहरूको अनुगमन गरेर गत कात्तिकमा प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रलेख अधिकृत अधिकारीले भने, ‘अनुमगन गर्दा कतै अस्पतालहरू भर्खर निर्माण सुरु हुन थालेका, तर धेरैतिर अलपत्र अवस्थामा रहेको पाइयो। कतै सम्झौता त कतै योजना नै फिर्ता गएको पनि भेटियो।’

मोरङमा कतै भर्खर निर्माण सुरु, कतै योजना नै फिर्ता 
पूर्वप्रधानमन्त्री ओलीले एकैपटक शिलान्यास गरेका आधारभूत अस्पतालहरू मोरङमा एउटा पनि निर्माण सम्पन्न भएका छैनन्। केही पालिकाले भर्खर निर्माण थाले पनि बजेट अभावले तीव्र गतिले काम अगाडि बढाउन सकेका छैनन्। केहीले स्थान सुनिश्चित गर्न नसक्दा योजना नै फिर्ता पठाएका छन्।

जिल्लाको लेटाङ नगरपालिकामा अस्पताल निर्माण कार्य टाइबिमसम्म पुगेको योजना अधिकृत भूपेन्द्र खनालले बताए। बेलबारी नगरपालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार सुरुमा बिजुलीको ट्रान्समिसन लाइनले गर्दा ढिलाइ भए पनि हाल निर्माण कार्य तीव्र रूपले भइरहेको छ।

पथरी शनिश्चरे नगरपालिकामा पनि अस्पताल निर्माण कार्य सुरु भएको छ।  निर्माणका लागि १८ करोड लागत अनुमान गरिएको सूचना अधिकारी भूपेन्द्र तिम्सिनाले बताए। बुढीगंगा गाउँपालिकामा पनि निर्माण भर्खर सुरु भएको छ। प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेका अनुसार अस्पतालको पिल्लर खडा गरेर वाल निर्माण गर्ने काम भइरहेको छ।

मिक्लाजुङ गाउँपालिकामा अस्पताल निर्माण सुरु भएको छ। स्वास्थ्य अधिकृत चिन्तामणि पोखरेलका अनुसार अस्पतालको हात्तीपाइले निर्माण सकेर टाइबिमको काम भइरहेको छ।

केराबारीमा पिल्लर मात्र खडा  
केराबारी गाउँपालिका– २ मा १० शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि पिल्लर उठाउने काम मात्र भएको छ। स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईंका अनुसार संघीय सरकारले रनिङ बिलका आधारमा मात्र भुक्तानी दिने व्यवस्था गरेकाले निर्माण कार्यका लागि बजेट अभाव हुँदा काम अगाडि बढ्न सकेको छैन।

ग्रामथानमा टेन्डर नै भएको छैन
ग्रामथान गाउँपालिका– २ मा हालसम्म अस्पताल निर्माणको टेन्डर प्रक्रिया नै सुरु भएको छैन। प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीेले अस्पताल निर्माणका लागि मन्त्रालयमा सहमतिका लागि पत्राचार गरे पनि जवाफ नआउँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

जग्गा सुनिश्चित नहुँदा योजना नै फिर्ता
रतुवामाई नगरपालिकामा भने जग्गा सुनिश्चित नहुँदा योजना नै कार्यान्वयनमा आएन। प्रमुख प्रशासकीय अधिकृत दीननाथ लम्सालका अनुसार जग्गा सुनिश्चित नहुँदा पहिलो चरणमा प्राप्त भएको बजेटसमेत फिर्ता गएको छ। सुन्दरहरैँचा नगरपालिकामा पनि जग्गा प्राप्त नहुँदा  योजना नै फिर्ता गएको सूचना अधिकारी जीवन चापागाईंले बताए।

सुझावित समाचार