ललितपुरको नल्लुमा एकै परिवारका पाँचको मृत्यु, निसास्सिएर ज्यान गएको आशंका

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित नल्लुमा कोठा न्यानो बनाउन कोइला बालेर सुत्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २२ वर्षीया बुहारी सुष्मा स्याङ्तान, नौ वर्षीय नाति आशिष स्याङ्तान र पाँच वर्षीया नातिनी आस्मा स्याङ्तान छन् । उनीहरू सोमबार बिहान ८:२० बजे मृत अवस्थामा भेटिएका थिए । दुई दिने शिशुको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । 

डिएसपी द्वारिका घिमिरे, महानगरीय प्रहरी वृत्त चापागाउँ

राति सुत्ने वेलामा कोइला बालेर सुतेका रहेछन्, नवजात शिशुलाई न्यानो पार्न कोइला बालेको देखिन्छ, साँघुरो कोठाका झ्यालढोका पनि बन्द रहेछन् ।

बिहान अबेरसम्म परिवारका सदस्य बाहिर ननिस्किएपछि छिमेकीले बोलाएका थिए । ढोका नखोलेपछि कोन्ज्योसोम गाउँपालिका–४ का वडाध्यक्ष तीर्थ घलानसहितको टोलीले उनीहरू सुतेको कोठाको ढोका खोलेको थियो । त्यतिवेला चारजना मृत अवस्थामा भेटिएका थिए भने दुईदिने शिशु र अर्का एकजना अचेत अवस्थामा थिए । शिशुको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी द्वारिका घिमिरेका अनुसार कोइला बालेर परिवारका सदस्य एकै कोठामा सुतेका थिए । अक्सिजनको कमी भएपछि उनीहरूको मृत्यु भएको थियो । ‘राति सुत्ने वेलामा कोइला बालेर सुतेका रहेछन्, नवजात शिशुलाई न्यानो पार्न कोइला बालेको देखिन्छ, साँघुरो कोठाका झ्यालढोका पनि बन्द रहेछन्,’ उनले भने ।   

प्रहरीका अनुसार आइतबार राति नल्लुस्थित स्याङ्तान परिवार खाना खाएर एउटै कोठामा सुतेको थियो । नवजात शिशुलाई न्यानो पार्न उनीहरूले कोइला बालेका थिए । सुत्ने वेला झ्यालढोका बन्द गरिएको थियो । प्रहरीका अनुसार कोठामा कोइला बालेर सुतेका एकै परिवारका चार सदस्य सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् । एकजना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

सात वर्षमा निसास्सिएर ३७ को मृत्यु, पछिल्लो एक महिनामा मात्रै उपत्यकामा १० ले ज्यान गुमाए

प्रहरीका अनुसार पछिल्ला सात वर्षमा निसास्सिएर ३७ जनाको मृत्यु भएको छ । ग्यास गिजरमा नुहाउँदा तथा कोठामा कोइला, हिटर बालेर सुत्दा निसास्सिएर उनीहरूको मृत्यु भएको हो । ग्रामीण क्षेत्रमा सुत्ने वेलामा कोठामा आगो तथा कोइला बाल्ने गरिन्छ । कोठा न्यानो पार्न पूरै झ्याल र ढोका बन्द गर्दा अकालमै ज्यान जाने गरेको छ । 

राति कोठामा अक्सिजन कमी हुन गई अकालमै ज्यान गुमाउनेको संख्या बढेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । उनका अनुसार एक महिनाको अवधिमा उपत्यकामा १० जनाको निसास्सिएर मृत्यु भएको छ । निसास्सिएर मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले जाडोमा हिटर, गिजर, कोइला, आगोको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम गर्ने बताएको छ ।  ‘कोठा बन्द गरेर आगो, ग्यास गिजर, हिटर र कोइला प्रयोग गर्नु राम्रो हुँदैन, यसबारेमा केहीलाई थाहा पनि छैन, त्यसैले हामीले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ,’ परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले भने ।   

सात वर्षयता निसासिएर मृत्यु र घाइते हुनेको संख्या 

  • ०७२– तीनको मृत्यु, दुई घाइते 
  • ०७३– दुईको मृत्यु, दुई घाइते
  • ०७४– दुईको मृत्यु, एक घाइते 
  • ०७५– दुईको मृत्यु
  • ०७६– १२ को मृत्यु, ६ जना घाइते
  • ०७७– एकजना घाइते 
  • ०७८ मा १६ को मृत्यु, पाँचजना घाइते
See More On

सुझावित समाचार