नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले टिप्पणी गरेका छन् । आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्युरो बैठकमा छलफल भएको नेतृ दिलु पन्तले नयाँ पत्रिकालाई जानकारी दिइन् ।
बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिवेश, आगामी निर्वाचन, संगठन विस्तारलगायतका विषय समेटिएको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सबैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।
एमसिसीबारे मतभेद भए पनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् । पोलिटब्युरो सदस्यको सुझावका आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेस गर्ने पन्तले जानकारी दिइन् ।
बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए ।
पार्टीको संगठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्युरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।