ओलीको कटाक्ष : संसारका ‘स्याल’ मिलेर एमाले सरकार ढलाए (भिडियोसहित)

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्न संसारभरका ‘स्याल’हरू एक भएको भन्दै कटाक्ष गरेका छन् । सोमबार पोखरामा मानवअधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् । 

उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाएको दुखेसो पोखे । ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरिका स्यालहरू हाम्रा विरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । हामीले असाधारण काम गर्दागर्दै प्रतिक्रियावादीहरू मिलेर सरकार ढलाए । त्यसको वैचारिक र व्यावहारिक ढंगले जवाफ दिनुपर्छ,’ उनले भने ।

उनले गत निर्वाचनबाट नेपालको विकास अभियान र गणतान्त्रिक अभियानमा धेरै नयाँपन ल्याएको दाबी गरे । तर, विभिन्न खालका प्रतिक्रियावादीहरूले त्यसलाई सहन नसकेर एमालेको सरकार विस्थापित गराइएको उनको दाबी छ । 

सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको उनको भनाइ छ । संसदबाट सरकार बनाउनुपर्नेमा अदालतको परमादेशले सरकार बनेकाले सरकारमा बस्नेलाई लोकतन्त्र नचाहिएको उनको धारणा थियो । 

सुझावित समाचार