एक वर्षमा कोइला र गिजरले लियो १६ जनाको ज्यान

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

जाडो याममा कोठा न्यानो पार्न बालिने कोइला र नुहाउन प्रयोग गरिने ग्यास गिजर होसियारी नपुर्याउँदा मृत्युको कारण बन्ने गरेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार ७ वर्षमा आगो, कोइला र ग्यास गिजरको प्रयोग गर्दा ३८ जनाले अकालमै ज्यान गुमाएका छन्। त्यसमध्ये विगत एक वर्षयता १६ जनाको निसासिएर मृत्यु भएको छ। पछिल्लो माघ र फागुन महिनामा मात्रै १० जनाको निसासिएर मृत्यु भएको छ। 

गत माघ १० गते काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका ५२ वर्षीय पदमबहादुर थिङ र उनी श्रीमती ४५ वर्षीय फूलमाया थिङको निसासिएर ज्यान गएको थियो। कोठा न्यानो पार्न दम्पतीले राति कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। भोलिपल्ट बिहान उनीहरू मृत अवस्थामा भेटिएका थिए। 

त्यस्तै, गएको माघकै ९ गते ललितपुरको सानेपामा मनोज शाह, उनकी श्रीमती रेखा आचार्य र उनकी छोरी प्रनिशा शाह कोठामा कोइला बालेर सुत्दा निसासिए। उनीहरु कोठामा अचेत अवस्थामा फेला परे। स्थानीयले समयमै जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले समयमै अस्पताल पुर्याएपछि अचेत अवस्थामा रहेका तीनजनाको ज्यान बचेको थियो। 

गए राति ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा त्यस्तै घटना भयो। नल्लुस्थित एउटा परिवार खाना खाएर एउटै कोठामा सुतेको थियो। नवजात शिशुलाई न्यानो पार्न उनीहरूले कोइला बालेका थिए। नवजात शिशुलाई न्यानो पार्न झ्यालढोका पनि बन्द गरेका थिए। 

प्रहरीका अनुसार कोठामा कोइला बालेर सुतेका एकै परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा भेटिए। एकजना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। परिसरका अनुसार घरमुली ५५ वर्षीया काइँली स्याङ्ताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङ्ताङ, नौ वर्षीय नाति आशिष स्याङ्ताङ र पाँच वर्षीया नातिनी आस्मा स्याङ्ताङ बिहान ८:२० बजे मृत अवस्थामा भेटिएका थिए। २ दिने शिशुको उपचारको क्रममा मृत्यु भएको छ। 

ढिलोसम्म परिवारका सदस्य बाहिर ननिस्किएपछि छिमेकीले बोलाएका थिए। ढोका नखोलेपछि वडाध्यक्ष तीर्थ घलानसहितको टोलीले उनीहरू सुतेको कोठाको ढोका खोलेका थिए। त्यतिवेला ४ जना मृत अवस्थामा भेटिएका थिए भने दुईदिने शिशु र अर्का एकजना अचेत अवस्थामा थिए। 

शिशुको पाटन अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी द्वारिका घिमिरेका अनुसार कोइला बालेर परिवारका धेरैजना सदस्य एकै कोठामा सुतेका थिए। 

अक्सिजनको कमी भएपछि उनीहरूको मृत्यु भएको थियो। ‘राति सुत्ने वेलामा कोइला बालेर सुतेका रहेछन्, नवजात शिशुलाई न्यानो पार्न कोइला बालेको देखिन्छ, साँघुरो कोठाका झ्यालढोका पनि बन्द रहेछन्,’ उनले भने। 

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा सहरी इलाकामा गिजरको प्रयोग बढेकोले यसबाट  हुने घटना पनि बढेका छन्। प्रहरीका अनुसार ७ वर्षमा २० जनाको ग्यास गिजरका कारण निसासिएर ज्यान गएको छ। त्यस्तै, कोठा न्यानो पारेर सुत्नको निम्ति कोठामा कोइला र आगो बालेर सुत्दा १८ जनाले निसासिएर ज्यान गुमाएका छन्। यस्तो प्रकारको घटना प्राय ग्रामीण क्षेत्रमा हुने गरेको प्रहरीको भनाइ छ। ग्रामीण क्षेत्रमा सुत्ने वेलामा कोठामा आगो तथा कोइला बाल्ने गरिन्छ। कोठा न्यानो पार्न पूरै झ्याल र ढोका बन्द गर्दा अकालमै ज्यान जाने गरेको हो। 

स्वास्थ्य जनचेतनाको कमीले पनि ग्रामीण भेगमा सुत्ने वेलामा आगो तथा कोइला बालिने नेपाल प्रहरीले जनाएको छ। राति कोठामा अक्सिजन कमी हुन गई अकालमै ज्यान गुमाउनेको संख्या बढेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए। 

उनका अनुसार एक महिनाको अवधिमा उपत्यकामा १० जनाको निसासिएर मृत्यु भएको छ। निसासिएर मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले जाडोमा हिटर, गिजर, कोइला, आगोको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम गर्ने बताएको छ। 

‘कोठा बन्द गरेर आगो, ग्यास गिजर, हिटर र कोइला प्रयोग गर्नु राम्रो हुँदैन, यसबारेमा केहीलाई थाहा पनि छैन, त्यसैले हामीले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ,’ परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले भने। 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७२ मा निसासिएर ३ जनाको मृत्यु भएको छ। त्यस्तै, २०७३ मा २ जनाले ज्यान गुमाएका छन् भने १ जना घाइते भएका छन्। २०७४ मा निसासिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरी तथ्यांकले देखाउँछ। 

तथ्यांकअनुसार २०७५ मा २ जनाको निसासिएर मृत्यु भएकोमा त्यही घटनाका कारण २०७६ मा १२ जनाले ज्यान गुमाएका छन्। २०७७ मा १ जना घाइते भएको र २०७८ मा १६ जनाको निसासिएर मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ।  

प्रहरीका अनुसार सबैभन्दा बढी निसासिएर मृत्यु हुनेको संख्या काठमाडौंमा बढी छ। भक्तपुर, ललितपुर, मकवानपुर, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, जुम्लालगायत जिल्लामा निसासिएर मृत्यु हुनेको संख्या बढेको छ।  

सात वर्षयता निसासिएर मृत्यु र घाइते हुनेको संख्या 
२०७२– ३ जनाको मृत्यु, दुईजना घाइते 
२०७३– दुईजनाको मृत्यु, दुईजना घाइते
२०७४– दुईजनाको मृत्यु, एक घाइते 
२०७५– दुईजनाको मृत्यु
२०७६– १२ जनाको मृत्यु, ६ जना घाइते
२०७७– एकजना घाइते 
२०७८ मा १६ जनाको मृत्यु, ५ जना घाइते

सुझावित समाचार