मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास, समयमै निर्माण सक्न निर्देशन

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छिन्। सोमबार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डी दल गणको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन्।

उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिएकी छिन्। मन्त्रालय र भवन निर्माण विभाग आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उनले लक्ष्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताइन्। देश सञ्चालन हुने केन्द्र सिंहदरबारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाई काम गर्न आग्रह गरिन्।

‘भवन निर्माण विभाग, हाम्रो सहरी विकास मन्त्रालय काम गर्ने सिंहदरबारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरूले यो काम हामीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ। त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ। काम अनटाइम सक्नका लागि मैले अनुरोध गरेँ। काम सुरु गर्नलाई टाइम लागे पनि सुरु भएपछि समयअगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘सिंहदरबारभित्र सबै क्रसकटिङ इन्टिटीहरू एकै ठाउँ भएको आयोजना पनि ढिलो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फर्मेन्समाथि प्रश्न उठ्नेछ।’

सिंहदरबारभित्र नै सेनाको ब्यान्ड दलका लागि बनाइने भनिएको भवन जग्गा अभावका कारण सफल नभएको भन्दै उनले जग्गा प्राप्ति गर्ने काम भइरहेको जानकारी दिइन्। सिंहदरबारभित्र बन्न लागेको चण्डी दल गणको भवन निर्माणको जिम्मा बिकोई, रसुवा र तुँदी जोइन्ट भेन्चरले प्राप्त गरेको छ। भवन निर्माणको अनुमानित लागत ६५ करोड ९५ लाख रुपैयाँ र निर्माण अवधि दुई वर्ष रहेको छ।

एक लाख वर्गफिट क्षेत्रफलमा बन्न लागेका दुई भवनमा सात सय दुई जवान रहन सक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै, भवन परिसरमा चारवटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउन्डसमेत बनाइनेछ। कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ।

सुझावित समाचार