विदेशी टोलीमाथि फ्रेन्ड्सको जित

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबले विदेशी टोलीविरुद्ध जित हासिल गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबमाथि फ्रेन्ड्सले २–० गोलअन्तरको रवाफिलो जित दर्ता गरेको हो ।

फ्रेन्ड्सको जितमा विदेशी खेलाडी जम्युल फ्राङ्कोइज नायक बने । एभेनियरविरुद्धको जितमा दुवै गोल फ्राङ्कोइजले गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित रह्यो । दुवै टिमले अग्रता बनाउनका लागि जोडतोड प्रयास गरे पनि पहिलो हाफमा गोलविहीन खेले । यो अवधिमा पाएका मौकालाई गोलमा सदुपयोग गर्न दुवै टिम चुकेका थिए । पहिलो हाफमा एभेनिरका इब्राहिम र याहुको सशक्त प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुल यादवले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको सुरुवातमै थप सशक्त भएर प्रदर्शन गरेको फ्रेन्ड्सका लागि ५३औँ मिनेटमा जम्युलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । उनको उत्कृष्ट एक्रोब्याटिक प्रहारलाई एभेनिरका खेलाडीले बचाउने प्रयास गरे पनि बलले जाली चुमिसकेको थियो । खेलको ६२औँ मिनेटमा जम्युलले व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर पारे । एभेनिरका खेलाडीले जम्युललाई नै ‘डी’ एरियामा लडाएपछि पेनाल्टी दिइएको थियो । जम्युलले उक्त अवसरलाई खेर जान दिएनन् । उनी खेलको म्यान अफ द म्याच भए ।

जितसँगै फ्रेन्ड्स खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा उसले मच्छिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ । देशकै सर्वाधिक पुरस्कार राशिको यो फुटबल प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको खप्तड गोल्डकपमा दुईवटा विदेशीसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता २८ फागुनसम्म सञ्चालन हुनेछ । 

सुझावित समाचार