चीनमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालबाट १४ खेलमा सहभागिता जनाउनका लागि सिफारिस भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित हाई पफर्मेस कमिटीले शुक्रबार राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई बुझाएको सुझावमा नेपालले आसन्न एसियाडमा १४ खेलमा मात्र सहभागिता जनाउँदा राम्रो हुने उल्लेख भएको छ ।
१९औँ एसियाड सेप्टेम्बरमा चीनको ह्वाङझोउमा हुँदै छ । २४ मंसिरमा सात सदस्यीय कमिटी गठन भएको थियो । राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनाको अध्ययनपछि राखेपका निमित्त सदस्य–सचिव थापालाई प्रतिवेदन बुझाएको हो ।
कमिटीको प्रतिवेदनमा तीन चरणको तयारी गरी १४ खेलका खेलाडीलाई चीन पठाउँदा उचित हुने सुझाव दिएको छ । संयोजक विकका अनुसार १३औँ दक्षिण एसियाली खेलकुद र केही खेलको पछिल्लो समयको प्रदर्शनका आधारमा खेल संख्या सिफारिस गरिएको बताएका छन् ।
‘हामीले १३औँ सागमा स्वर्ण जितेका खेलहरू र पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका महिला भलिबल, ब्याडमिन्टनलगायतका खेलसमेत समेटेर १४ खेलको सहभागिता उचित हुने सिफारिस गरेका छौँ,’ विकले भने । नेपालले सन् २०१९ मा काठमाडौंमै सम्पन्न १३औँ सागमा ५१ स्वर्ण जितेको थियो । डेढ महिनाअघि नेपालले बंगलादेशमा भएकोे महिला भलिबल टोलीले सेन्ट्रल जोनको उपाधि रक्षा गरेको थियो । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रोपटक उपाधि उचालेको हो । हाई पफर्मेस कमिटीले राष्ट्रिय टोलीको प्रशिक्षणमा तीन चरण गरी एसियाडको तयारी गर्नुपर्ने सुझाव दिएको छ । समितिका संयोजक विकले एसियाली खेलकुदको समय नजिकिँदा राष्ट्रिय टिम तयारी ढिला भइसकेको बताए । ‘जिम्मेवारी पाएलगत्तै काम गरेका थियौँ,’ उनले भने ।