रहेनन् स्पिनका बादशाह सेन वार्न

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

शुक्रबार बिहान मात्रै अस्ट्रेलियन विकेटकिपर रोड मार्सलाई ट्विटरबाट श्रद्धाञ्जली दिएका सेन वार्नको हृदयघातबाट मृत्यु

विश्व क्रिकेटकै सर्वकालीन महान् स्पिनर सेन वार्नको हर्ट अट्याक्टबाट  शुक्रबार निधन भएको छ । फोक्स समाचार एजेन्सीका अनुसार सम्भवतः हृदयघातबाट वार्नको निधन भएको हो । ‘थाइल्यान्डको एक भिल्लामा वार्न भुइँमा लडेको अवस्थामा भेटिएको थियो, तत्कालै उनलाई बचाउन सबै प्रयास भयो, तर सम्भवतः हर्ट अट्याक्टबाट निधन भएको हुनुपर्छ,’ भिल्लाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै मेडिकल स्टार्फहरूले अन्तिम समयसम्म पनि बचाउन प्रयास गरेका थिए, तर वार्नले केही प्रतिक्रिया जनाएनन् ।’ 

परिवारले सुरक्षाको दृष्टिकोणले तत्काल अन्य सूचना बाहिर नदिन भनिएको छ । वानको अप्रत्यासित निधनले समग्र क्रिकेट जगत् नै स्तब्ध भएको छ । उनका समकालीनदेखि वर्तमान क्रिकेटरहरूले वार्नको दुखद निधनप्रति समवेदना प्रकट गरेका छन् । संयोग के रह्यो भने वार्न निधन हुनुभन्दा अगाडि केही घन्टाअघि मात्र उनले अस्ट्रेलियन विकेटकिपर रोड मार्सप्रति श्रद्धाञ्जली दिएका थिए । ट्विटरमा मार्सप्रति दिइएको श्रद्धाञ्जलीको केही घन्टामै वार्नको पनि हृदयघातबाटै निधन भयो । ‘७४ वर्षको उमेरमा अस्ट्रेलियन क्रिकेटकै एक महान खेलाडी हृदयघातबाट निधन भएको छ, क्रिकेट जगत्मा मार्सको नाम नै काफी छ,’ वार्नले शुक्रबार बिहान ट्विट गरेका थिए, ‘सन् १९९० ताका मार्सले एकल प्रदर्शनमै अस्ट्रेलियालाई सफलता दिलाएका थिए ।’ ५१ वर्षीय वार्नले पाँचपटक विस्डन क्रिकेट अवार्ड हात पारेका छन् । 

श्रीलंकाका मुथैया मुरलीधरणले टेस्ट खेलमा आठ सय विकेटको विश्वकीर्तिमान राख्नुअघि वार्नको नाममा सर्वाधिक सात सय आठ विकेटको कीर्तिमान रहेको थियो । सन् १९९२ देखि २००७ सम्म वार्नले अस्ट्रेलियन क्रिकेटबाट खेलेका थिए । १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा वार्नले एकपटक एकदिवसीय विश्वकप उपाधि जितेका थिए । सन् १९९० को दशकमा वार्नको बलिङ शैली निकै अनौठो मानिएको थियो । बललाई पूरै ३६० डिग्रीमा घुमाउन सक्ने खुबी राखेका वार्नले आधुनिक क्रिकेटमा नयाँ बलिङ शैली प्रतिपादन गरेका मान्छन् । 

क्रिजमा छोटो स्टेप लिने र सुनौलो रंग कपाल पालेका वार्नले एकदिवसीय क्रिकेटमा समेत तकल्का मचाएका थिए । सन् १९९२ मा भारतविरुद्ध टेस्टमा डेब्यु गर्दै वार्न क्रिकेट क्षेत्रमा पाइला राखेका थिए । वार्नले आफ्नो टेस्ट क्रिकेटकै पहिलो विकेटका लागि एक सय ५० रन खर्चेका थिए । सन् २००७ मा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि एसेज सिरिजमा ५–० को जित निकालेपछि वार्नले सन्न्यास लिए । सन् २००४ मा अस्ट्रेलियन क्रिकेटका कप्तान बनेका वार्नले सन् २०१३ सम्म टी–२० फम्यार्टलाई निरन्तरता दिए । 

वार्नले एकदिवसीय खेलमा एक सय ९४ खेलबाट दुई सय ९३ विकेट लिएका छन् । बलिङसाथै ब्याटिङ पनि उनी गर्न सक्थे । वार्नले टेस्टमा तीन हजार एक सय ३४ रन, एकदिवसीयमा एक हजार १८ रन तथा पहिलो श्रेणीमा ६ हजार नौ सय १९ रन बटुलेका छन् । 

See More On

सुझावित समाचार