नेपालमा १४ ब्रान्डका बिजुली कार

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

विभिन्न ब्रान्डका साढे १९ लाखदेखि साढे तीन करोड रुपैयाँसम्मका विद्युतीय कार नेपाली सडकमा कुदिरहेका छन्  

नेपाली सडकमा विश्वका एक दर्जनभन्दा बढी ब्रान्डका इलेक्ट्रिक (विद्युतीय) कार हुइँकिन थालेका छन् । साढे १९ लाखदेखि साढे तीन करोड रुपैयाँसम्मका विद्युतीय कार नेपाली बजारमा आइसकेको अटो व्यवसायी बताउँछन् ।

टेस्ला, अउडीजस्ता विश्वकै प्रिमियम ब्रान्डका विद्युतीय कार पनि नेपाली सडकमा कुद्न थालेका छन् । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै बैंकको ऋणदेखि भन्सार, अन्तःशुल्क, वार्षिक नवीकरण दस्तुरलगायतमा व्यापक छुट सुविधा दिइरहेको छ । यसै कारण नेपाली उपभोक्तामा विद्युतीय कारप्रति आकर्षण बढ्दो छ । 

नेपालमा पहिलोपटक करिब १३ वर्षअघि सानो विद्युतीय कार महिन्द्रा ‘रेभा’ प्रवेश गरेको थियो । अहिले चिनियाँ, भारतीय, कोरियालीदेखि अमेरिकी कम्पनीसम्मका आरामदायी विद्युतीय कार आइसकेका छन् । अझै केही ब्रान्ड नेपाल आउने तयारीमा रहेको बताइन्छ । अहिलेसम्म नेपालमा महिन्द्रा, किया, हुन्डाई, एमजी, बिवाइडी, टाटा, दिगो, ग्रेटवाल, पियाजिओ, डेरी, डिएफएसके, टेस्ला, अउडी, निसानलगायत १४ ब्रान्डका विद्युतीय कार आइसकेका छन् । 

बजारमा १७ किलोवाटदेखि एक सय किलोवाट आवर क्षमतासम्म ब्याट्री ब्याकअप भएका विद्युतीय कार भित्रिइसकेका छन्, जसले एकपटकको फुल ब्याट्री चार्जमा साढे पाँच सय किलोमिटरसम्म माइलेज दिन्छन् ।

शक्तिशाली ब्याट्री ब्याकअपसहितका विद्युतीय कार भित्रिन थालिसकेको एमजी गाडी विक्रेता सचिन अर्याल बताउँछन् । ‘पहिला काठमाडौं भ्यालीमा मात्र विद्युतीय कार चल्थे, धेरैले दोस्रो कारका रूपमा मात्र किन्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले राजमार्गमा समेत धेरै विद्युतीय कार कुदेको देख्न सकिन्छ, काठमाडौंबाहिर पनि उत्तिकै विद्युतीय कार बिक्री हुन थालिसकेको छ ।’ 

धेरै माइलेज दिने ठूलो क्षमताका विद्युतीय कार भित्रिन थालेपछि लामो दूरीमा पनि कुद्न थालेका हुन् । त्यसैले पनि धेरैले पहिलो सवारीकै रूपमा विद्युतीय कार किन्न थालेको देखिन्छ । बजारमा १७ किलोवाटदेखि एक सय किलोवाट आवर क्षमतासम्म ब्याट्री ब्याकअप भएका विद्युतीय कार भित्रिइसकेका छन्, जसले एकपटकको फुल ब्याट्री चार्जमा साढे पाँच सय किलोमिटरसम्म माइलेज दिन्छन् । टेस्लाको मोडेल एक्सले फुल ब्याट्री चार्जमा साढे पाँच सय किलोमिटरभन्दा बढी माइलेज दिने नेपाली विक्रेता कम्पनी अरित इन्टरनेसनलका सञ्चालक विनोद श्रेष्ठ बताउँछन् । 

विद्युतीय कारको बिक्री बढेसँगै कम्पनीले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाउन थालेका छन् । दिगो, किया, हुन्डाई, बिवाइडीलगायत कम्पनीले चार्जिङ स्टेसनमा पनि लगानी गर्न थालेका छन् । टेस्लाले पनि काठमाडौं, पोखरालगायत ठाउँमा चार्जिङ स्टेसन राखिसकेको छ । पृथ्वी राजमार्ग, बिपी राजमार्गसहित मोफसलका धेरै ठाउँमा चार्जिङ स्टेसन राख्न थालिएको छ । हुन्डाईले मात्रै देशका विभिन्न ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिसकेको दाबी गरेको छ । नेपालमा हुन्डाईका कोना र आयोनिक–५ गरी दुई मोडेलका विद्युतीय कार बिक्री भइरहेका छन् ।

नेपालमा विद्युतीय भर्सनमा चारपांग्रे कार मात्र होइन, सिटी बस, मिनी बस, माइक्रो बस, स्कुटर, मोटरसाइकल, तीनपांग्रे रिक्सा पनि कुदिरहेका छन् । दिगो ग्रुपले बिपी राजमार्गमा व्यावसायिक रूपमै विद्युतीय माइक्रो बस चलाउन थालिसकेको छ । दिगोले काठमाडौं, खुर्कोट, बर्दिबासलगायत ठाउँमा चार्जिङ स्टेसन पनि स्थापना गरेको छ । केही समयअघि पृथ्वी राजमार्गको कुरिनटारमा पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

नेपालमा एमजीको जेडएस इभीको नयाँ भर्सन आइतबार सार्वजनिक भएको छ । पारामाउन्ट मोटर्सले एमजी इभी ५१.५ र ७२.६ किलोवाट आवर ब्याट्री तथा एक सय ३० किलोवाट इलेक्ट्रिक मोटर क्षमतामा ल्याएको छ । यसअघि एमजी इभी ४४ किलोवाट आवर ब्याट्री र एक सय १० किलोवाट इलेक्ट्रिक मोटरमा उपलब्ध थियो । सोल इभीमार्फत विद्युतीय अटो बजारमा प्रवेश गरेको कियाले अहिले निरो इभी बिक्री गर्छ । निकट भविष्यमै इभी–६ बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

भारतीय कम्पनी टाटाले नेक्सन इभीको नयाँ भेरियन्टसँगै टिगोर इभी पनि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ । दुवै मोडेल तीन–तीन भेरियन्टमा उपलब्ध छन् । चिनियाँ कम्पनी बिवाइडी विद्युतीय अटो बजारमा अग्रणी मानिन्छ । यो कम्पनीको सेकेन्ड जेनेरेसन इ–६ बजारमा उपलब्ध छ, जसमा ७१.७ किलोवाट क्षमताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । अरू सबैजसो गाडीमा लिथियम आयन ब्याट्री राखिएको छ । बिवाइडीका ठूला विद्युतीय बस र भ्यान पनि भित्रिसकेका छन् । चीनको हेनान डेरी ब्रान्डका दुईवटा इभी उपलब्ध छन्, जसमध्ये इभी–७ पूरै विद्युतीय कार हो भने इएम–७ मा सोलारबाट पनि ब्याट्री चार्ज गर्न सकिन्छ । यस्तै, निसानको विद्युतीय कार लिफ पनि नेपाली बजारमा आइसकेको छ ।

सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै बैंकको ऋणदेखि भन्सार, अन्तःशुल्क, वार्षिक नवीकरण दस्तुरलगायतमा व्यापक छुट सुविधा दिइरहेको छ, जसले उपभोक्तालाई विद्युतीय कारप्रति आकर्षण बढाइरहेकोे छ ।

टेस्ला र अउडी पनि
विश्वकै प्रिमियम ब्रान्ड टेस्ला र अउडीका विद्युतीय कार पनि नेपाली सडकमा कुदिरहेका छन् । नेपालमा टेस्ला ब्रान्डका कार अरित इन्टरनेसनलले आयात गर्दै आइरहेको छ । यो कम्पनीले काठमाडौं, पोखरालगायत ठाउँमा चार्जिङ स्टेसन पनि बनाइसकेको छ । अहिलेसम्म टेस्लाका १९ वटा गाडी नेपालमा आइसकेको अरित इन्टरनेसनलका सञ्चालक विनोद श्रेष्ठले बताए । उनले भने, ‘नेपालमा मोडेल थ्री १५ वटा, मोडेल एक्स चारवटा कुदिरहेका छन्, मोडेल वाई पाँचवटा आउँदै छन् ।’ टेस्लाको करिब साढे तीन करोडसम्मका गाडी बिक्री भइरहेको कम्पनीले जनाएको छ । मोडेल वाई सिंगल मोटर र डबल मोटरमा आउँदै छ, जसको मूल्य क्रमशः एक करोड ६० लाख र एक करोड ७५ लाख पर्नेछ । 

नेपालमा विद्युतीय कारको इतिहास
नेपालमा सबैभन्दा पहिला सन् २००८ तिर सानो आकारको महिन्द्रा रेभा भित्रिएको थियो । पछि महिन्द्रा र रेभा कम्पनी छुट्टिएपछि महिन्द्राले महिन्द्रा इटुओ बजारमा ल्यायो । महिन्द्रा रेभा र इटुओ अगाडि मात्र डोर भएका गाडी थिए । तर, रेभाभन्दा इटुओ अलि ठूलो र सुधारिएको थियो । महिन्द्राले पछि इटुओ प्लस बजारमा ल्यायो । थोरै रेन्ज भएका सानो आकारका यी गाडीहरू काठमाडौं सहरमा मात्र कुदाउने गरिन्थ्यो । र, धेरैले दोस्रो कारका रूपमा प्रयोग गर्न खोज्थे । रेभाले अधिकतम ८० किमि र इटुओले एक सय र इटुओ प्लसले एक सय ३० किलोमिटरसम्म माइलेज दिने हुँदा लामा दूरीमा कुदाउन सम्भव थिएन ।

यही क्रममा चिनियाँ कम्पनी बिवाइडीले सन् २०१७ मा इ–६ मोडेल ल्याएपछि इभीको बजारले नयाँ मोड लियो । ठूलो आकार र धेरै रेन्ज पनि दिने हुँदा इ–६ सरकारी कार्यालयदेखि निजी सवारीका रूपमा प्रयोगमा आयो । राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालयदेखि विभिन्न निकायले बिवाइडीको इ–६ किनेका थिए । सन् २०१७ मै कियाको सोल नेपाल भित्रियो, जसले एकपटकको फुल चार्जमा दुई सय किलोमिटरसम्म माइलेज दिन्थ्यो । अहिले एकपटकको फुल चार्जमा पाँच सय किलोमिटरभन्दा बढी माइलेज दिने विद्युतीय कार बजारमा आइसकेका छन् । सडकमा विद्युतीय कार प्रशस्तै कुदेको देख्न सकिन्छ ।

नेपाल भित्रिन लागेका मोडेल

नेपालमा इभी बिक्री गर्दै आइरहेको कियाले इभी–६ मोडेल ल्याउँदै छ । ५८ किलोवाट आवर क्षमताको ब्याट्री ब्याकअप रहेको इभी–६ छिट्टै ल्याउन लागेको कम्पनीले जनाएको छ । डिएफएसकेको इलेक्ट्रिक ब्रान्ड सेरेसको नयाँ इभी सेरेस थ्री दिगो ग्रुपले नेपालमा ल्याउन लागेको हो । यसअघि नै दिगोले डिएफएसकेको इलेक्ट्रिक माइक्रो भ्यान डाँफे बिक्री गर्दै आइरहेको छ । सेरेस थ्री डिएफएसकेको ग्लोरी ५८० को साइजमा बनेको इलेक्ट्रिक एसयुभी हो ।

बिवाइडीको नेपाली विक्रेता साइमेक्स इंक प्रालिले बिवाइडीको ‘एसटुप्लस’ मोडेल बजारमा ल्याउने तयारीमा छ । यो मोडेलले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चा कमाइरहेको छ । ब्लेड ब्याट्रीको साथमा आउने यस कारले चार सय किलोमिटर माइलेज दिने दाबी गरिएको छ । दिगोले विद्युतीय ह्याचब्याक कार ए–९ ल्याउँदै छ । यसअघि दिगोको इ–८ बजारमा आएको थियो ।

पछिल्लो समय विश्वभरिका गाडी कम्पनी विद्युतीय भर्सनमा गइरहेका छन् । महिन्द्राको एक्सयुभी–३०० बजारमा आउन लागेको छ । निकट भविष्यमा मारुती सुजुकीको पनि विद्युतीय गाडी आउँदै छ ।

सुझावित समाचार