नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वमा महिलालाई प्राथमिकता दिन माग गर्दै विद्यार्थी नेतृहरूले सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले पार्टी पदाधिकारीहरूमार्फत सभापति देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थी नेतृहरूले उपसभापतिद्वय धनराज गुरुङ, पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। गत फागुन ३ मा बसेको कार्यसम्पादन समिति बैठकले नेविसंघसहित अवधि समाप्त भइसकेका १० भ्रातृ संगठनको कार्यसमिति विघटन गरी फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।
यससँगै तदर्थ समिति गठनका क्रममा नेविसंघ नेतृत्व चयनको जिम्मेवारी सभापतिको काँधमा आएकाले छात्राहरूलाई समेटेर समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न माग गरिएको छ। नेविसंघ पूर्वकेन्द्रीय सदस्य गीता गुरुङले विद्यार्थी नेतृहरू पनि केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम रहेकाले जिम्मेवारी प्रदान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको नयाँ पत्रिकालाई जानकारी दिइन्। ‘नेविसंघ नेतृत्वमा महिला ल्याउनुपर्छ भन्ने माग राखेर पदाधिकारीहरूमार्फत सभापति देउवालाई ज्ञापनपत्र बुझाएका हौँ,’ उनले भनिन्।
ज्ञापनपत्रमा कम्तीमा स्नातकोत्तर अध्ययन गरेको, केन्द्रीय समितिमा रही काम गरेको अनुभवी व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन माग गरिएको छ। त्यस्तै ज्ञापनपत्रमा अन्य पार्टीका विद्यार्थी संगठनको नेतृत्वमा महिलाहरूको उपस्थिति देखिएको अवस्थामा कांग्रेसले पनि जनसंख्यालाई समेत आधार मानेर निर्णय नेतृत्व चयन गर्न माग गरिएको छ। कांग्रेसले यी भ्रातृ संस्थाको महाधिवेशन तीनवटै तहको निर्वाचनको अन्तिम परिणाम आएको ३ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

