बाैद्ध विहारबारे लिखित दस्ताबेज तयार पारिँदै

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

ललितपुरको पुल्चोकमा रहेको बाैद्ध विहारको वास्तविकता समेटिएको लिखित दस्ताबेज तयार पारिने भएको छ। बाैद्ध विहारको संरक्षण र प्रवर्धनको लागि दस्ताबेज तयार पार्न लागिएको हो। त्यसको लागि ललितपुरको पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा फागुन २१ र २२ गते छलफल तथा अन्तर्क्रिया गरिने भएको छ। 

नेपाल मण्डलको बहाः बहीको इतिहास, संस्कृति र अभ्यासबारे सरोकारवाला निकायसहितको उपस्थितिमा उक्त छलफल गरिनेछ। उक्त छलफलमा संस्कृतिविद्, जनप्रतिनिधि, स्थानीय र अनुसन्धानकर्ताको सहभागिता रहनेछ। लिच्छिविकालीन र मल्लकालीन बाैद्ध विहारको इतिहाससम्बन्धी पुस्तक तथा लेखहरू निकै कम रहेको र त्यसलाई थप प्रचारप्रसार गर्न लिखित दस्ताबेज तथा पुस्तक आवश्यक रहेको बाैद्ध विहार संघले जनाएको छ। 

बहाः बहीको इतिहास, संस्कृति र अभ्याससम्बन्धी प्रमाणिक, विवरणात्मक र व्याख्यात्मक छलफल गरिनेछ। उक्त छलफलपछि पुस्तक तयार गरिनेछ।  गोष्ठीमा लिच्छिवीकालीन नेपाल मण्डलमा बहाः बहीको इतिहास, मध्यकालीन नेपालमण्डलमा बहाः बहीको इतिहास, बहाः बहीमा प्रचलनमा रहेको त्रियान परम्पराको दार्शनिक पक्ष, बहाः बहीको कला, बहाः बहीको दिगो संरक्षणलगायत गरी १० वटा कार्यपत्र प्रस्तुत गरिने गोष्ठी सञ्चालन कार्यसमितिका सदस्य ज्ञानेन्द्र शाक्यले बताए । 

उनका अनुसार इतिहास, संस्कृति र दर्शनको केन्द्रमा रहेको बाैद्ध विहारको संरक्षण गर्न आधुनिक पुस्तालाई यससम्बन्धी जानकारी गराउन आवश्यक छ।
 

सुझावित समाचार