आरआर क्याम्पसमा नेपाल भाषा पठनपाठन

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)लाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयाेग गरेको छ ।  

बुधबार काठमाडौं महानगरपालिकाका  प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालू शैक्षिक सत्रका लागि रु. १५ लाखको चेक हस्तान्तरण गरे ।  

गएको कात्तिक १६ गते बसेको कामपाको ७०औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख उपलब्ध गराउने निर्णय गरेअनुरूप बुधबार उक्त रकम उपलब्ध गराएको हो ।  

 ‘आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पुर्याउन हामीले लगानी गरेका हौँ,’ प्रमुख शाक्यले भने । नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन् । 

अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ । 

सुझावित समाचार