सन्दीप एकदिवसीयको पनि कप्तान

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीयको पनि कप्तानी गर्ने भएका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि सन्दीपलाई टी–२० टोलीको मात्र जिम्मेवारी दिएको थियो । सन्दीपको कप्तानीमा नेपालले चार देश सम्मिलित टी–२० सिरिज र टी–२० विश्वकप छनोट खेलेको थियो । विश्वकप छनोटमा नेपाल तेस्रो भएको थियो । नेपालले आउने चैतमा आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिसीय सिरिज खेल्दै छ । 

यसै प्रतियोगिता मध्यनजर गरी क्यानले बुधबार सन्दीपलाई नेपाली राष्ट्रिय एकदिवसीय टोलीको कप्तान बनाइएको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले सन्दीपलाई टी–२० टोलीका कप्तान बनाइएको बताएका छन् । ‘आइसिसी क्रिकेट लिग २ मा सन्दीपले नै टोलीको कप्तानी गर्नेछन्,’ मल्लले भने । क्यानले कप्तान चयन गरे पनि उपकप्तान भने तोकेको छैन । मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरूप तत्काल कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । 

नेपालले विश्व डिभिजन २ का लागि श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्नेछ । नेपाली टोली केही दिनभित्र श्रीलंका प्रस्थान गर्नेछ । नेपालले श्रीलंकामा स्थानीय टोलीविरुद्ध चारवटा अभ्यास खेल खेल्नेछ । विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो । प्रतियोगिता युएईमा हुनेछ । 

विश्व डिभिजन लिग २ मा नेपाल आठ खेलमा आठै अंक जोडी छैटौँ स्थानमा छ । नेपालले चार खेलमा जित र चारै खेलमा हार सामना गरेको छ । ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाको १६ खेलबाट १४ अंक हात पारेको छ । 

 सन्दीप र कुशलको फड्को
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आइसिसी टी–२० ब्याट्सम्यानको वरीयतामा फेरि माथि उक्लिएका छन् । यसअघि ३९औँ स्थानमा रहेका कुशल आइसिसीले बुधबारको वरीयतामा ३१औँ स्थानमा उक्लेका छन् । कुशलले यसपटक आठ स्थान सुधार गरेका छन् । कुशलले न्युजिल्यान्डका केन विलियम्सन, पाकिस्तानका फखर जमान, इंग्ल्यान्डका जोनी बार्यस्टो र अस्ट्रेलियाका डेभिड वार्नरलाई पछि पारेका छन् । कुशलले पाँच सय २७ वरीयता अंक जोडेका छन् । विलियमसन ४४औँ, फखर ३९औँ, वार्नर ४८ औँ र वार्यस्टो ३७औँ स्थानमा छन् । शीर्ष स्थानमा पकिस्तानका बाबर अजाम र दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् । यसैगरी आइसिसी टी–२० ब्याटिङ वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा रहेका छन् । 

विश्व डिभिजन २ नेपालको खेल
२ चैतमा पपुवा न्युगिनी, ४ चैतमा युएई, ७ चैतमा युएई, ८ चैतमा पपुवा न्युगिनी

See More On

सुझावित समाचार