नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिसन कन्ट्री पार्टनर रहने गरी चैत तेस्रो साता काठमाडौंमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो २०२२ आयोजना हुने भएको छ । एक्सपो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्सपो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो ।
एक्सपो नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ चैत १८ देखि २० सम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा एक्सपो हुन लागेको आयोजकले जनाएका छन् । भारतीय राजदूतावासको समन्वयमा एक्सपो आयोजना हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्सपोले उजागर गर्ने उनको भनाइ छ । नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पु¥याउनेलगायतका उद्देश्यसहित आयोजना हुने एक्सपोले ऊर्जा क्षेत्रमा फरक आयाम दिने आयोजकको अपेक्षा छ ।
एक्सपोमा हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउने, हाइड्रोसम्बन्धी सरोकार राख्नेहरूलाई एकै छानामुनि भेला पार्ने तथा विभिन्न देशसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने आयोजकले जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने एक्सपोमा एक सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्सपोमा रहने जनाइएको छ । जसमा झन्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाइ छ ।
यसपटकको एक्सपोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोेपावर रोबोथन(हाइड्रोकर्न २.०),ब्याटल रोबोट्स तथा हाइड्रोपावरको लाइभ डेमोन्स्ट्रेसन विशेष आकर्षण बन्ने जनाइएको छ । एक्सपोमा विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा समावेश गरिनेछ ।
विद्युतीय सवारीसाधनको ¥याली पनि एक्सपोको विशेष आकर्षण बन्ने आयोजकको भनाइ छ । यसले विद्युतीय सवारीसाधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इपानका उपाध्यक्ष आशिष गर्गले बताए । विद्युतीय सवारीका साथै विद्युतीय चुलोको प्रयोगलाई विशेष जोड दिनुपर्ने र यसले जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
यसका साथै इच्छुक अवलोकनकर्ताहरूलाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टुरको व्यवस्था गरिएको आयोजक संस्था एक्सपो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्सपोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन पनि राखिएको जनाइएको छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने र एक्सपो ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।