चर्चित धार्मिक यात्रा १५ दिने मध्यपरिक्रमा बिहीबारदेखि सुरु हुँदै छ । फागुने औसीदेखि पूर्णिमासम्म मनाइने उक्त परिक्रमाको तयारी तीव्र रूपमा भइरहेको छ ।
धनुषा, महोत्तरी र भारत बिहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरू समेटिने परिक्रमा नेपालको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू–भागको परिक्रमा गरिन्छ ।
बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा मनाइन्छ । मध्यपरिक्रमामा रुचि राख्नेहरूको संख्या उल्लेख्य रहेको सरोकारवाला बताउँछन् । मिथिला महात्ममा वर्णन गरिएको मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको साहित्यकार डा.राजेन्द्र बिमल बताउँछन् ।
फागुने औँसीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरूसमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।
बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोसमेत सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
डोलामा पछि–पछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरू सहभागी हुन्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ ।
१५ दिने परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्याणेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), बिसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात् १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले जानकारी दिए ।
परिक्रम सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको उनले बताए ।