बाजुरा जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका– २ जय वागेश्वरीका ६८ वर्षीय मीनबहादुर सिंह हत्या गरी फरार भएको ३१ वर्षपछि पक्राउ परेका छन्। २०४८ साल असोज ६ गतेका दिन भैँसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए।
३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय बाजुराले आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। सिंहलाई ३१ वर्षपछि लुकिछिपी बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिए।
२०५४ साल भदौ २५ गते पुनरावेदन अदालत दिपायलले मीनबहादुर सिंहसमेतका प्रतिवादीहरूलाई जन्मकैदको फैसला गरेको थियो। त्यस्तै २०७५ असार २८ गते सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजाय फैसला गरेको थियो।
सो फैसला मितिदेखि नै निज प्रतिवादी सिंह ३१ वर्षदेखि फरार रहेका थिए। ३१ वर्षपछि पक्राउ गरिएका सिंहलाई आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।