साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । ०३२ मा पाल्पामा जन्मिएका उनको गएराति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।
केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलाइसिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना संक्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन् । उनको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीतलेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए । उनी कानुन व्यवसायीसमेत थिए । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।