मेयर भेट्रान्स कपमा १२ जिल्लाका १६ टिम सहभागी

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

गोरखामा मंगलबारदेखि दोस्रो मेयर भेट्रान्स कप सुरु भएको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ दलभज्याङमा रहेको कृत्रिम घाँसेमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेका छन् । 

चौथो फुटबल मेलाअन्तर्गत भएको उद्घाटन खेलमा युनिटी भेट्रान्स चितवनले अलस्टार भेट्रान्स आबुँखैरेनी तनहुँलाई ५–३ गोलले पराजित गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । मंगलबार पहिलो दिन एक खेल मात्र भएको छ । बुधबार सात खेल हुने क्लबका अध्यक्ष खत्रीले बताए । प्रतियोगिता २० फागुनमा सकिनेछ ।प्रतियोगितामा चितवन, तनहुँ, कास्की, बारा, लमजुङ, नुवाकोट, झापा, नवलपुर, स्याङ्जा, काठमाडौंको र गोरखा गरी १२ जिल्लाका १६ टिमको सहभागिता छ । प्रतियोगितामा ४० वर्षमाथिका उमेर समूह व्यक्तिले खेल्न पाउने उनले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने टिमले एक लाखसहित ट्रफी मेडल, प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले ५० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र र खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिने क्लब अध्यक्ष अमित खत्रीले जानकारी दिए । 

सुझावित समाचार