कोकाकोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । कम्पनीले २५ रुपैयाँमा एक सय ७५ मिलिलिटरको आरजिबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा बजारमा ल्याएको हो । नेपाली भाषाको कोकाकोला लोगोसहित आएको कान्छु प्याकले नेपाली उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
यो बोतललाई वातावरणमैत्री बनाउनका लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको कम्पनीको भनाइ छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने जनाइएको छ । यो बोतलमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै छनोट प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । सोहीअनुसार सबैभन्दा सानो र सबैभन्दा कान्छु प्याक कान्छु बोतल बजारमा ल्याएको उनको भनाइ छ । यसको आगमनसँगै नेपाली उपभोक्तालाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोकाकोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको अवस्थीले बताए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नयाँँ कान्छु प्याक सबैभन्दा एफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको बताए । कम्पनीले कान्छु बोतलजस्तै कोकाकोलाले सन् २०१९ मा दुई सय ५० एमएलको जिग्री प्याक लन्च गरेको थियो ।