शिवरात्रिमा पाँच हजार सुरक्षाकर्मी परिचालन, १० लाखले पशुपति मन्दिर दर्शन गर्ने

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण
शिवरात्रिमा पाँच हजार सुरक्षाकर्मी परिचालन, १० लाखले पशुपति मन्दिर दर्शन गर्ने

महाशिवरात्रिको अघिल्लो दिन सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

महाशिवरात्रि पर्व सुरक्षाका लागि पाँच हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये चार हजार तीन सय सुरक्षाकर्मी नेपाल प्रहरी र बाँकी सशस्त्र प्रहरीका सुरक्षाकर्मी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सम्पूर्ण सुरक्षाको कमान्ड एसपीबाट हुनेछ । मातहतमा १० वटा सबकमान्ड युनिट रहनेछन् । प्रत्येक दिन तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन हुनेछन् । सोमबार साँझबाट सुरु भएको सुरक्षा प्रबन्ध बुधबार साँझसम्म कायम रहनेछ । 

एसपी दिनेश मैनाली, प्रवक्ता, काठमाडौं प्रहरी परिसर

महाशिवरात्रि पर्वमा सुरक्षा प्रबन्ध चुस्त तुल्याउन सोमबार साँझबाटै प्रहरीको तैनाथी सुरु भइसकेको छ । सम्भावित चोरी, डकैती, पाकेटमारजस्ता घटना रोक्न सादा पोसाकमा पनि सुरक्षाकर्मी खटिनेछन् । सबै गरी ४३ सय प्रहरी परिचालन हुनेछन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले महाशिवरात्रि पर्व सुरक्षा प्रबन्ध चुस्त पारिएको बताए । ‘महाशिवरात्रि पर्व सुरक्षा प्रबन्ध चुस्त तुल्याउन सोमबार साँझबाटै प्रहरीको तैनाथी सुरु भइसकेको छ । सम्भावित चोरी, डकैती, पाकेटमारजस्ता घटना रोक्न सादा पोसाकमा पनि सुरक्षाकर्मी खटिनेछन् । सबै गरी ४३ सय प्रहरी परिचालन हुनेछन्,’ उनले भने ।

प्रहरीका अनुसार पशुपति मन्दिर दर्शनमा सहभागी हुनेहरूले स्वास्थ्य प्रोटोकल भने अनिवार्य रूपमा पलना गर्नुपर्नेछ । दर्शनार्थीका लागि सवारी व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक प्रहरीले लिएको छ । यसका लागि महाशाखाले  ‘महाशिवरात्रि पर्व–विशेष ट्राफिक व्यवस्थापन योजना’ नै गठन गरेको छ । यसपटक चाबहिल–गौशाला–तिलगंगा र चाबहिल–गौशाला–पुरानो बानेश्वर भएर चल्ने सवारीसाधनलाई सामान्य ढंगले नै चल्ने दिने मनस्थितिमा महाशाखा छ । यदि भक्तजनको अत्यधिक भिड भएमा यस क्षेत्र हुँदै चल्ने सवारीसाधन वैकल्पिक बाटो भएर चलाउनुपर्नेछ ।

महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले भक्तजनको चापले गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था भए मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने बताए । ‘गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

पाशुपत क्षेत्रमा आएका साधु

ट्राफिक महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवं भक्तजनहरूका सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्वेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको बताए । यसैगरी, पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि देश तथा विदेशबाट १० लाख दर्शनार्थी सहभागी हुनेछन् । जसमध्ये अधिकांश भारतका दर्शनार्थी हुनेछन् । पर्वमा विशेष गरी भारतबाट जोगी र सन्न्यासीको सहभागिता धेरै हुनेछन् । विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भारत तथा अन्य क्षेत्रबाट जोगी र सन्न्यासी मात्रै २५ हजारभन्दा धेरै आएको बताए । ‘महाशिवरात्रि पर्व सुरु भएको छ । देश तथा विदेशबाट पर्वमा १० लाख दर्शनार्थी सहभागी हुने हाम्रो अनुमान छ । सबैभन्दा धेरै दर्शनार्थी भारतबाट आउनेछन् । जोगी र सन्न्यासी मात्रै त्यहाँबाट २५ हजारभन्दा धेरै आएका छन् । सबैको बस्ने प्रबन्ध मिलाएका छौँ,’ उनले भने ।

विकास कोषका अनुसार दर्शनका लागि मंगलबार बिहान ३ बजेबाटै पशुपति मन्दिरका चारै ढोका खुल्नेछन् । मन्दिर दर्शनका लागि सबै लाइनमा अनिवार्य रूपमा बस्नुपर्नेछ । छुट्टा–छुट्टै ढोकाका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको छ । पर्वमा सहभागी हुनेका लागि निःशुल्क खाना, स्वास्थ्य परीक्षण, औषधि, खानेपानीको प्रबन्ध गरिएका छन् । यसका लागि मात्रै विकास कोषले पाँच हजार स्वयंसेवक खटाउने कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । ‘दर्शनार्थीलाई लाइन राख्न, दर्शनमा सहजीकरण गर्न, पानी, खाना, औषधिको व्यवस्था गर्न पाँच हजार स्वयंसेवक परिचालन गरिएका छन् । उनीहरू पर्वभर खटिनेछन् । यसको सबै प्रबन्ध क्षेत्र विकास कोषले गरेको छ,’ उनले भने ।

सुझावित समाचार